पूर्ण रूपमा अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा बीस वर्षे सैन्य मिसन अन्त्य

admin

एजेन्सी, १५ भाद्र : अमेरिकी सेना अफगानिस्तानबाट पूर्ण रूपमा फिर्ता भएका छन् । योसँगै अफगानिस्तानमा २० वर्षसम्म चलेको सैन्य मिसन पनि अन्त्य भएको छ । काबुलमा रहेका अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएका बीबीसीले जनाएको छ ।

पछिल्ला केही हप्तामा अमेरिकाले झण्डै ८० हजार व्यक्तिको उद्धार गरेको सेना फिर्ती अभियानको सुपरीवेक्षण गरेका जनरल फ्रयाङ्क मकेन्जीले बताएका छन् । गएको अगस्ट १४ मा तालिबानले काबुल नियन्त्रणमा लिएपछि त्यहाँ फसेका आफ्ना नागरिक र सेनाको उद्धारका लागि अमेरिकालगायतका देशले आज अगस्ट ३१ सम्मको समय पाएका थिए ।

अमेरिकी सेनाका सेन्ट्रल कमान्डका प्रमुख जनरल मकेन्जीले काबुलमा रहेको हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभन्टीन विमान उडेसँगै सैन्य उद्धारका साथै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको बताए ।

यो मिसन सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीट टावरमा इस्लामिक आतङ्कवादी सङ्गठन अल-कायदाले आक्रमण गरेलगत्तै सुरु भएको थियो, जसअन्तर्गत ओसामा बिन लादेन तथा उनका थुप्रै अल-कायदा षड्यन्त्रकारीहरूमाथि आक्रमण भएको थियो । अफगानिस्तानमा अमेरिकी उपस्थितिका कारण उच्च मूल्य चुकाउनुपरेको र दुई दशकमा २४ सय अमेरिकी सुरक्षाकर्मीको ज्यान गएको प्रमुख जनरल मकेन्जीले बताए ।

यस्तै अन्तिम अमेरिकी विमान बाहिरिएसँगै तालिबानले काबुलमा राति आकाशमा रातो प्रकाश छर्नुका साथै मसिन गनबाट गोली चलाएर हर्षोल्लास गरेका थिए । अन्तिम अमेरिकी फौज फर्किएपछि प्रतिक्रिया दिँदै तालिबानका एक प्रवक्ताले अफगानिस्तानले पूर्ण रूपमा स्वतन्त्रता हासिल गरेको बताएका बीबीसीले जनाएको छ ।

सेना फर्किएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले मानवीय सहयोग र अफगानिस्तान छाड्न चाहनेहरूको आवतजावतको सुनिश्चितताका लागि तालिबानहरूसँग कुटनीतिक तहबाट वार्ता गरिरहने बताएका छन् । अमेरिकी सेना फर्किए पनि यसअघि सन् १९९० को दशकमा अफगानिस्तानमा शासन गर्दा तालिबानले दिएको सास्ती फेरि दोहोरिने डर अफगानी नागरिकहरूमा कायमै रहेको छ ।

प्रतिक्रिया