पचास लाख खर्च भइसक्यो, कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधार देखिएन : नर्भिक अस्पताल

admin

काठमाडौं, १५ भाद्र : मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नआएको नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत मोडल अधिकारीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराउँदै अस्पतालले उद्धार गरेको झण्डै तीन महिना बित्न लाग्दासमेत उनको स्वास्थ्य अवस्था स्थिर नै रहेको बताएको हो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार निशालाई अझै पनि अक्सिजनकै सपोर्टमा सिसीयूमा राखेर उपचार जारी गरिएको छ । आफैं खाना खाने अवस्था अझै छैन भने शरीरमा केही मासु लागे पनि घाउहरु लामो समयसम्म निको हुन सकेका छैनन् । नर्भिकका प्रबन्ध संचालक मेघा चौधरीले घिमिरेको जेठ २७ गते केही समाजसेवीको सहयोग लिएर उद्धार गरेकी थिइन् ।

हालसम्म नर्भिकमा घिमिरेको उपचारमा लागेको सम्पूर्ण खर्च प्रबन्ध संचालक मेघा चौधरी र अस्पतालले प्रायोजन गर्दै आएको छ । अस्पतालका अनुसार हालसम्म निशाको उपचारमा ५० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । पत्रकार सम्मेलनको अवसरमा नर्भिकले निशाको उपचारका क्रममा अरु कोही व्यक्ति वा संस्थाबाट कुनै पनि सहयोग नलिएको र लिन आवश्यक समेत नरहेको प्रष्ट पारेको छ ।

‘उद्धार गरेको केही दिनसम्म घिमिरेको स्वास्थ्यमा सुधार हुने लक्षणहरु देखापरेका थिए । उहाँको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध सबैखालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकिएको छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर पनि उहाँको स्वास्थ्य अवस्थामा खासै सुधार देखिएको छैन । तीन महिनापछि पनि कलाकार घिमिरेको स्वास्थ्य अवस्था स्थिर नै रहेको छ ।’

यस्तै ‘निशा घिमिरेको उपचारका नाममा कोहीकसैले सहयोग रकम संकलन गरिरहेको भन्ने यदाकदा सुनिन्छ, तर यो विषयमा नर्भिक अस्पताल अनभिज्ञ रहेको छ,’ उक्त विज्ञप्तिमा भनिएको छ । दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी कलाकार घिमिरेको उपचार जारी रहेको र उनको स्वास्थ्य अवस्थालाई आवश्यक पर्ने अन्य सबै विकल्पहरुको विषयमा समेत सोच्नुपर्ने अवस्था आएको बताइएको छ ।

त्यस्तै ‘स्वास्थ्य अवस्था स्थिर नै रहने हो भने उहाँलाई राम्रो रिहाब सेन्टरको खाँचो पर्ने देखिएको छ,’ सोही विज्ञप्तिमा भनिएको छ । डा. पंकज जलान नेतृत्वको टिमले घिमिरेको उपचार गरिरहेको छ । डा. जलानले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उनको उपचार गरिरहेको समेत बताएका छन् । उनका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने सम्भावना देखिन्न ।

दुर्घटनापछि घिमिरेको ब्रेनमा निकै ड्यामेज भएको र लामो समय उपचारविहीन अवस्थामा राखिएकोले समेत अहिले सबै कोशिशका बाबजुद घिमिरेको अवस्थामा अपेक्षित सुधार हुन नसकेको उनको भनाई । तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल निशा घिमिरेको उद्धार गर्नुअघिको अवस्था निकै दर्दनाक थियो । मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन् । यत्तिकै बिजोग अवस्थामा नर्भिककी प्रबन्ध सञ्चालक चौधरीले उनको उद्धार गरेकी हुन् ।

प्रतिक्रिया