काठमाडौं, १५ भाद्र : नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसीएल नेपालको राष्ट्रिय भेला सम्पन्न भएको छ। २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै भेला सम्पन्न भएकाे हो।
विधानअनुसार केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रीय कमिटी चयन गरिएको वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले बताए। नयाँ केन्द्रीय समितिमा २३ जना पछि मनोनित हुने उनकाे भनाइ छ।
शनिबारबाट सुरु भएको भेलामा अध्यक्ष पदका लागि सुबोध शेर्पाली र सुमन देवकोटाले दाबी गरेका थिए। तर, सहमति जुटाउन नसकेपछि केन्द्रीय समितिले नै पदाधिकारी चयन गर्ने सहमति भएको छ।
दुबैले आ-आफ्नो दाबी नछाडेपछि नेतृत्व पछि टुंग्याउने सहमति भएको छ। नेतृत्व सहमतिय रुपमा पार्टी अध्यक्ष प्रचण्डले टुंग्याउने सहमति भएको छ। सोमबार बसेको स्थायी कमिटीको बैठकले प्रचण्डलाई नेतृत्व चयन गर्ने जिम्मेवारी दिएको थियो। मंगलबार बिहान पनि नेतृत्वको बिषयमा छलफल भएको थियो। तर, सहमति नभएपछि पछिका लागि सारिएको छ।
ऐतिहासिक रूपमा भर्चुअल माध्यमबाट भेला सम्पन्न भएपछि १४ वर्षपछि वाईसीएलको जिम्मेवारीबाट बिदा भएको दिपशिखाले बताए।
उनले भने, ‘निर्वाचित केन्द्रीय समितिले भावी नेतृत्व तथा पदाधिकारी चयन गर्नेछ। १४ वर्ष लामो विभिन्न जिम्मेवारीबाट बिदा भएको छु। तर, फरक जिम्मेवारीमा म संगठन सँगसँगै हुनेछु।’