काठमाडौँ, १६ भाद्र : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कडा निषेधाज्ञा गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिँदै आएको छ । संक्रमण नियन्त्रण गर्न नसक्नेगरी बढ्दै गए कडा निषेधाज्ञा गर्नुपर्ने अवस्था आउनेमा मन्त्रालयले सचेत गराएको छ ।
संक्रमण फैलिन नदिन भिडभाड हुने सामाजिक क्रियाकलाप नगर्न र खोप लगाएका तथा नलगाएका सबैले स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न पनि मन्त्रालयले पटकपटक आग्रह गर्दै आएको छ । संक्रमणको अवस्थालाई हेरेर जिल्ला तहमा निषेधधाज्ञा कतिसम्म कडा वा खुकुलो गर्ने भन्ने जिम्मा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई दिइएको छ ।
सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेका जिल्लाहरूमा अहिले पनि निषेधाज्ञा कायम नै छ । काठमाडौंको हकमा भने अहिले पर्ख र हेर कै अवस्था रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताउँछन् । संक्रमणले उच्च रूप लिँदै गए मन्त्रालयले सीसीएमसीलाई निषेधाज्ञाका लागि सिफारिस गर्नेछ ।