दश वर्ष पुरानो सभामुखविरुद्ध मुद्दाको पेसी संवैधानिक इजलासमा

admin

काठमाडौं, १६ भाद्र : सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको पेसी (आज) बुधबारका लागि तोकिएको छ । सभामुख सापकोटाविरुद्धको मुद्दाको पेसी संवैधानिक इजलासमा तोकिएको छ । प्रधान न्यायाधीश चोलेन्द्र समशेर जबरा अध्यक्ष रहेको संवैधानिक इजलासमा सुनुवाइको पेसी तोकिएको हो ।

इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् । यसअघि पटक पटक सुनुवाइको पेसी तोकिएको यो मुद्दाको सुनुवाइ भने हुन सकेको छैन । २०७६ फागुन ३० गते यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।

सभामुख सापकोटामाथि सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लागेको छ । २०६२ बैशाखमा अपहरणमा परेका लामालाई जिउँदै पुरेको भन्दै उनकी श्रीमती पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् । प्रहरीले जाहेरी नलिएपछि पूर्णिमायाले सर्वोच्चमा उजुरी गरिन् ।

२०६४ मा जाहेरी दर्ता भए पनि बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहेरी तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च गएपछि सर्वोच्चले त्यो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ ।

प्रतिक्रिया