युवा पुस्ता लागिपरे मात्र देशले कोल्टो फेर्छ : अर्थमन्त्री शर्मा

admin

काठमाडौं, १६ भाद्र : अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले अबको दश वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । बुधबार ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन प्रा.लि.भवनको शिलान्यास कार्यक्रममा अर्थमन्त्री शर्माले अबको दश वर्ष देश विकासका लागि युवा पुस्ता लागि परेमात्र देशले कोल्टो फेर्ने बताएका हुन् ।

उनले अहिलेको युवा पुस्ताले अबको एक दशक देश विकासका लागि समय ननिकाल्ने हो भने वृद्धावस्थामा देश विकास गर्छु भनेर पनि नसकिने धारणा व्यक्त गरे । अबको एक दशक नेपाल राष्ट्रको लागि महत्वपूर्ण घडी भएको बताउँदै अर्थमन्त्री शर्माले यो अवधिमा धेरै समस्याहरुलाई पन्छाउँदै विकास प्रगतितिर अघि बढ्नुपर्ने बताए ।

उनले प्रकृतिले दिएको सुन्दर उपहारले नेपाल भरिपूर्ण भएकोले शैक्षिक र सक्षम जनशक्ति तथा श्रोतको एकताबाट मात्रै देश विकास सम्भव हुने बताए । अर्थमन्त्री शर्माले युवाले देखेको देशको विकास र समृद्धिमा भ्रष्टाचार, राजनैतिक समस्या भइरहेकोले युवाहरु निराश भएको र अब त्यस्तो नैराश्यता पैदा हुन नदिने आश्वासन दिए ।

अबको युवापुस्ताले देश विकास गर्ने जिम्मा अब आफ्नो भएको भन्ने कुरा सोचेर अघि बढ्नुपर्ने पनि उनले बताए । यस्तै अर्थमन्त्री शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर अघि बढ्ने क्रममा राजनीतिले लय छोड्न थालेको, प्रतिगमनको बाटो लिएपछि त्यसविरुद्ध अहिले जनता जुर्मुराएर राजनीतिलाई लयमा ल्याएको बताए । उनले देशमा उत्पादनमुखी अर्थतन्त्रको आवश्यक्ता रहेको भन्दै आफूसँग भएका श्रोत साधनहरुलाई प्रयोग गरेर आत्मनिर्भर बन्न सकिने बताए ।

प्रतिक्रिया