आज पनि ‘हेर्न नमिल्ने’ सूचीमा सभामुख सापकोटाविरुद्धको मुद्दा

admin

काठमाडौं, १६ भाद्र : सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा बुधबार पनि हेर्न नभ्याइने सूचीमा परेको छ । सापकोटाविरुद्धको मुद्दा बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अध्यक्ष रहेको संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।

संवैधानिक इजलासमै रहेका न्यायाधीश हरिकृष्ण कार्कीले कानुन व्यवसायी हुँदा रिट निवेदकको पक्षबाट बहस गरेको हुनाले सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ गर्न नमिल्ने भन्दै सर्वोच्चले यसलाई हेर्न नमिल्नेको सूचीमा राखेको हो ।

यसअघि पटक-पटक सुनुवाइको पेसी तोकिएको यो मुद्दाको सुनुवाइ भने हुन सकेको छैन । सभामुख सापकोटामाथि सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको ह’त्यामा संलग्न भएको आरोप लागेको छ । २०६२ बैशाखमा अपहरणमा परेका लामालाई ह’त्या गरेको भन्दै उनकी श्रीमती पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।

प्रहरीले जाहेरी नलिएपछि पूर्णिमायाले सर्वोच्चमा उजुरी गरिन् । २०६४ मा जाहेरी दर्ता भए पनि बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहेरी तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च गएपछि सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ ।

प्रतिक्रिया