एजेन्सी, १६ भाद्र : भारतको उत्तर प्रदेशका केही जिल्लामा एक हप्ताभन्दा बढी समयदेखि फैलिएको पहिचान नखुलेको रोगका कारण ५० जनाभन्दा धेरैको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरै बालबालिका रहेका छन् । बालबालिकाहरूमा उच्च ज्वरो आउने, पसिनामा भिजेर बिउँझिने, जोर्नी दुख्ने, टाउको दुख्ने, शरीरमा पानी कम हुने र रिँगटा लाग्ने लक्षण देखिएको छ ।
केहीको भने हातखुट्टामा डाबर पनि आएको बीबीसीले जनाएको छ । भारतीय सञ्चारमाध्यमहरूले पहिचान नखुलेको ज्वरोले बालबालिकाको ज्यान लिइरहेको भन्दै यसले कैयौँ गाउँ आक्रान्त भएको बताएका छन् । यस्तै सयौँ बालबालिका अस्पताल भर्ना भएका र उनीहरूमा कोरोना संक्रमण भने नदेखिएको भारतीय सञ्चारमाध्ययमले जनाएको छ ।
लक्षण देखिएपछि अस्पताल पुर्याइएका बालबालिकाहरूको निकै छिटो ज्यान जाने गरेको फिरोजाबाद जिल्लाका वरिष्ठ डाक्टर नीता कुल श्रेष्ठले बताए । बीस करोड जनसङ्ख्या भएको राज्यमा कमजोर फोहर व्यवस्थापन, धेरै बालबालिकामा कुपोषण र फितलो स्वास्थ्य सेवाका कारण बर्सेनि वर्षायामपछि पहिचान नखुलेको ज्वरोका बिरामीहरूको खबर आउने गरेका बीबीसीले जनाएको छ ।