देशको अर्थतन्त्रलाई फेरि चलायमान बनाउनुपर्छ : प्रधानमन्त्री देउवा

admin

काठमाडौं, १६ भाद्र : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको अर्थतन्त्रलाई फेरि चलायमान बनाउनुपर्ने बताएका छन् । महिला उद्यमी महासङ्घको पाँचौँ अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेलाको बुधबार भर्चुअल सम्बोधन गर्दै उनले कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई फेरि चलायमान बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका हुन् ।

सबै नागरिकलाई चाँडै कोरोना खोप उपलब्ध गराएर देशको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयत्नशील रहेको छ, प्रधानमन्त्री देउवाले भने । उनले नेपाली उत्पादनलाई प्रोत्साहन र बजारीकरण गर्न महिला उद्यमी महासङ्घले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । यस्ता मेलाले देशको अर्थतन्त्रलाई थप सबल बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनले कोरोनाका कारण नेपालमा उत्पादन भएका सामान बजारसम्म पुग्न नसकेको वर्तमान परिवेशमा सरकारले बजारीकरणलाई विशेष प्राथमिकता दिने उल्लेख गरे । उनले भेलाको पूर्ण सफलताको कामनासमेत गरे । उक्त भर्चुअल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, विभिन्न देशका राजदूत तथा महिला उद्यमीको सहभागिता रहेको थियो । मेला पाँच दिनसम्म चल्ने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया