जनकपुरधाम, १६ भाद्र : प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) का १० जना सांसदले प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पक्षमा सनाखत गरेका छन्।
लोसपा अध्यक्ष महन्थ ठाकुरसँग छलफलपछि बुधबार १० जना प्रदेश सांसदले उनको पार्टीका पक्षमा सनाखत गरेका हुन्। सनाखत गर्ने जसपाका सांसदमा परमेश्वर साह, जयनूल राईन, गौरीनारायण साह, सुरिताकुमारी साह, निलमदेवी भूमिहारिन, रमेश कुर्मी, बाबुलाल साह, अल्काकुमारी झा, बबिताकुमारी चौधरी र जानकीशरण साह छन्।
निर्वाचन कार्यालय पुगेका प्रदेश सांसदहरू जितेन्द्र सोनल, उपेन्द्र महतो, अभिराम शर्माले भने सनाखत गरेनन्। बाँकी प्रदेश सांसदलाई ल्याएर उनीहरूसँगै तीनै जनाले सनाखत गर्ने लोसपा कार्यकारिणी सदस्य एवम् प्रदेश सांसद जितेन्द्र सोनलले जानकारी दिए। उनका अनुसार प्रदेश सांसद रानी शर्मा जनकपुर आउन नसकेका कारण निर्वाचन कार्यालय पुगेर पनि सनाखत नगरेका हुन्।
सांसदलाई लिएर कार्यकारिणी सदस्य सोनल निर्वाचन कार्यालय पुगेका थिए। अन्य सांसद बिहीबार र शुक्रबार सनाखतका लागि निर्वाचन कार्यालय जाने उनले बताए। लोसपाका पक्षमा जसपाका १४ जना सांसद खुलेका छन्। एक नेताका अनुसार जसपाका ५४ सांसदमध्ये १४ जना लोसपामा खुलेर सनाखत गर्न तयार रहेको र थप ४ जनालाई आफ्नो पक्षमा सनाखत गराउन प्रयास भइरहेको छ।