काठमाडौं, १७ भाद्र : नेकपा एमालेले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल दर्ता खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट अधिवक्ता सुमित्रा पाण्डेले दर्ता गराएको रिटमा पार्टीले कारबाही गरिसकेका १४ जना सांसद र नौ जना केन्द्रीय सदस्यले गरेको सनाखतलाई वैधता दिएर निर्वाचन आयोगले कानुन विपरीत क्रियाकलाप गरेको उल्लेख गरिएको छ ।
पार्टीले कारबाही गरेका सांसद र केन्द्रीय सदस्यको सनाखतका आधारमा दर्ता भएको नेकपा एकीकृत समाजवादी दललाई नै खारेज गर्न रिटमा माग गरिएको छ । गएको बैशाख २७ गते आफ्नै पार्टीका प्रधानमन्त्रीलाई विश्वासको मत नदिने माधव नेपालसहित १४ सांसदलाई पार्टीले निष्कासन गरेकाले उनीहरूलाई तत्कालै बर्खास्त गर्न पनि रिटमा माग गरिएको छ । यस रिटको पेसी भोली शुक्रबारका लागि तोकिएको छ ।