एजेन्सी, १७ भाद्र : सय्यद सादात अफगानिस्तानका पूर्वसञ्चारमन्त्री हुन् । सन् २०१६ देखि २०१८ सम्म उनी मन्त्रीको जिम्मेवारीमै थिए । राष्ट्रपतिनिकट व्यक्तिहरुसँगको असहमतिपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । उज्ज्वल भविष्यको आशाले उनी गत डिसेम्बरमा जमर्नी गएका थिए । अहिले उनी जर्मनीको लेइपजिग सहरमा फास्टफुड डेलिभरी (डेलिभरी ब्वाइ) को काम गरिरहेका छन् ।
मन्त्री भइसकेको मान्छेले यस्तो काम गर्ने भनेर उनलाई सुरुमै परिवारका सदस्यले समेत आलोचना गरेका थिए । तर उनले काम सानो ठूलो हुँदैन भन्दै तत्काल जे काम पाए त्यही सुरु गरे । उनी सबै रोजगारी समान हुने बताउँछन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा ४९ वर्षीय सादातले भने, ‘मलाई यो काम गर्दा कुनै नराम्रो लागेको छैन, यसमा कुनै लज्जित हुनुपर्ने कुरै छैन ।’
लुकेर बस्नुभन्दा सार्वजनि रुपमा काम गर्नु नै राम्रो भएको उनी बताउँछन् । उनी भन्छन, ‘मलाई आशा छ अरु राजनीतिज्ञले पनि यही बाटो पछ्याउनुपर्नेछ । लुकेर बस्नुभन्दा सार्वजनिक रुपमै काम गर्नु राम्रो हो ।’ उनले लाइफर्यान्डोमा साँझको सिफ्टमा ६ घण्टा खानेकुरा डेलीभरीको काम गर्छन् । त्यसअघि उनी दैनिक ४ घण्टा भाषा स्कुलमा जर्मन भाषा सिक्छन् ।
‘सुरुवाती दिनमा त निकै उत्साहित थिए, तर काम भने कठिन छ,’ उनले भने । लिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि पूर्वमन्त्री सादातको बारेमा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार प्रकाशित भएको हो । उनका साथी र परिवार पनि अहिले अफगानिस्तान छाड्ने तयारीमा रहेका छन् । हजारौं अफगानिस्तान सुरक्षित भविष्यको आशमा मातृभूमि छाड्न चाहन्छन् ।
त्यसो त उनी सूचना प्रविधि र टेलिकम्युनिकेसनमा उच्च शिक्षा हासिल गरेका कारण त्यसै क्षेत्रमा काम पाइन्छ कि भनेर उनी जर्मनी गएका थिए । तर जर्मन भाषाबिना त्यो सम्भावना निकै न्यून रहेको छ । उनी भन्छन्, ‘भाषाको ज्ञान निकै महत्त्वपूर्ण कुरा हो ।’ पूर्वमन्त्री सादात ब्रिटिस नागरिक पनि भएकाले बेलायत पनि जान सक्थे तर युरोपेली युनियनबाट बाहिरिने निर्णयसँगै उनी जर्मनी जान चाहे । आर्थिक अवस्था राम्रो होला कि भन्ने देखेर उनले जर्मनी रोजेको बताए ।
अहिले अफगानिस्तानमा अवस्था पनि अस्तव्यस्त बनेको छ । धेरै मानिस मुलुक छाड्न चाहन्छन् । सादातको परिवार र साथीहरु अफगानिस्तान छाड्न चाहन्छन् । अहिले सञ्चालन भइरहेको उद्धार उडानमा सामेल हुन चाहन्छन् । गएको बिहीबार मात्रै काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा इस्लामिक स्टेट-खुरासान (आईएस-के)ले गराएको आत्मघाती बम विस्फोटमा १३ अमेरिकी सुरक्षाकर्मीसहित करिब १६० जना अफगानी नागरिकको मृत्यु भएको थियो ।
अमेरिकी नेतृत्वको नेटो गठबन्धनको सेनाले अफगानिस्तान छाड्ने निर्णय गरेसँगै विभिन्न मुलुकमा शरण खोज्ने अफगानी नागरिकको संख्या पनि ह्वात्तै बढेको छ । त्यसमा पनि जर्मनीमा शरण खोज्ने अफगानी नागरिकको संख्या १३० प्रतिशतले बढेको शरणार्थी र आप्रवासीसम्बन्धी संघीय कार्यालयले जनाएको छ ।