मन्त्रिपरिषद् विस्तारका विषयमा २३ गतेसम्म कसैले पनि चुइँक्क बोल्दैन : नेता नेपाल

admin

काठमाडौं, १७ भाद्र : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले भदौ २३ गतेअघि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना नरहेको बताएका छन् । अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट भए पनि त्यसबारे छलफल नभएको पनि बताए । बिहीबार बिहान अध्यक्ष नेपालले दाहालसँग भेट गरेका थिए ।

सिंहदबारमा रहेको पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा उनले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा २२/२३ गतेसम्म त मन्त्रिपरिषद् विस्तारका बारेमा कसैले चुइँक्क पनि नबोल्ने बताए । सत्तारुढ दलभित्रको विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको चर्चा भइरहँदा अध्यक्ष नेपालले मन्त्रिपरिषद् विस्तारका विषयमा उपयुक्त समयमा मात्रै सत्तारुढ दलहरूबीच छलफल हुने प्रतिक्रिया दिए ।

उनले भने, ‘मन्त्रिपरिषद् विस्तारका विषयमा २२/२३ गतेसम्म त कसैले पनि चुइँक्क बोल्दैन । त्यसबारेमा अहिले केही चर्चा हुँदैछ । हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौँ ।’ अध्यक्ष नेपालले केपी ओलीको भ्रममा नपर्न पनि पार्टीका प्रदेश सभाका सांसदसहितका जनप्रतिनिधिलाई आह्वान गरे । केपी ओली र उनका मान्छेहरूले दश बुँदे सहमतिको भ्रमपूर्ण व्याख्या गरिरहेको उल्लेख गर्दै उनले त्यसको भ्रममा नपरि आफ्नो पार्टीमा आउन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरे ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले माओवादी केन्द्रसँग एकता नगर्ने पनि दोहोर्‍याए । उनले क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलीन हुने भ्रम नछर्न पनि सचेत गराए । नेता नेपालले भने, ‘हाम्रो पार्टी माओवादी केन्द्रमा मिल्छ वा विलीन हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । हाम्रो पार्टी क्रान्तिकारी विचारको आधारमा निर्माण भएको छ । यो केपी ओलीको निरङ्कुशताविरुद्ध विद्रोह गरेर बनेको पार्टी हो ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्न सफल हुने दाबीसमेत गरे । यसैबीच नेकपा (एकीकृत समाजवादी) पार्टीको राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालले पनि बिहीबार नै सिंहदरबारमा रहेको दलको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया