अटोमेटिक पेस्तोलसहित एक युवक पक्राउ

admin

दाङ, १९ भाद्र : अटोमेटिक पेस्तोलसहित एक युवक पक्राउ परेका छन्। रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं. ९ सखी घर भई हाल दाङको घोराही उपमहानगरपालिका वडा नं. १३ बडहरा बस्दै आएका २५ वर्षीय इन्द्रकमल बुढा मगर पक्राउ परेका हुन्।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले शुक्रबार बिहान साढे २ बजेतिर मगर पक्राउ परेको जानकारी दिए। गोप्य सूचनाका आधारमा खानतलासी गर्दा घरमा राखेको रा ५ प ८७६२ नम्बरको स्कुटरमुनि रातो प्लाष्टिकभित्र लुकाइछिपाइ राखेको अवस्थामा लोडेड एक राउण्ड गोलीसहित अटोमेटिक पेस्तोल बरामद भएको एसपी काफ्लेले बताए ।

मगरले पेस्तोल देखाएर सर्वसाधारणलाई त्रसित पार्ने गरेको सूचनाको आधारमा डिएसपी मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको टोलीले मगरलाई पक्राउ गरेको थियो। प्रहरी प्रमुख काफ्लेले मगर विगतमा पनि ज्यान मार्ने उद्योगमा साढे दुई वर्ष कैद सजाय भोगेका व्यक्ति रहेको जानकारी दिए।

२०७० वैशाख २५ गते साने घर्तीलाई ज्यान मार्ने उद्देश्यले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको घटनामा मगर दुई वर्ष ६ महिना कैद बसेका थिए।
मगरलाई हातहतियारसम्बन्धी मुद्दा चलाउने प्र हरीले जानकारी दिएको छ।

प्रतिक्रिया