आजदेखि सेवा बन्द गर्ने बीपीका चिकित्सकहरूको घोषणा

admin

काठमाडौं, २० भाद्र : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुद्धीकरणको माग गर्दै आन्दोलनरत स्वास्थ्यकर्मी, कर्मचारीले आइतबारदेखि इमरजेन्सी, कोभिड अस्पताल र पूर्वनिर्धारित परीक्षाबाहेकका सेवा बन्द गर्ने घोषणा गरेका छन्।

प्रतिष्ठान सुधारका लागि गरेको आन्दोलन ८२ दिन कुर्दा पनि सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै काम बहिष्कार गर्ने निर्णय गरेको संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले जानकारी दिए। उनीहरुले स्वास्थ्य सेवा बन्द गर्दा दैनिक रुपमा तीन हजार सर्वसाधारणले पाउने ओपिडी सेवा, २० जना हाराहारीमा हुने दैनिक शल्यक्रिया सेवालगायतका स्वास्थ्य सेवाबाट बिरामी बञ्चित हुनेछन्।

सरकारले पटकपटक उच्चस्तरीय समिति बनाउने, समितिले प्रतिष्ठानमा भ्रष्टाचार, अनियमितता भएको प्रतिवेदन सरकारलाई दिने तर सरकारी पक्षले कारबाही नगरेको भन्दै अर्को चरणको आन्दोलनमा होमिएको उनीहरुको भनाइ छ।

आन्दोलनमा उठाएको मुद्दाहरूलाई सरकारले लिपिवद्ध गर्दै सम्झौता गरे पनि कार्यान्वयनमा ढिलाइ गरेकाले आइतबारदेखि इमरजेन्सी, कोभिड अस्पतालको सेवा र पूर्वनिर्धारित परीक्षाबाहेक सबै सेवा बन्द गर्ने समितिका संयोजक डा. सूर्यप्रसाद रिमालले बताए।

सरकारले कोभिड महामारीको बेलामा पनि स्वास्थ्यमन्त्री नियुक्ति नगरेको बताउँदै अबको आन्दोलन राजनीतिक दलका शीर्ष नेताहरूविरुद्ध पनि हुने उनले बताए। प्रतिष्ठानमा बेथिति बढेको, आर्थिक अनियमितता एवं भ्रष्टाचार बढेको भन्दै चिकित्सक, विद्यार्थी, कर्मचारीहरू विगत ८२ दिनदेखि आन्दोलनरत छन्। आन्दोलन चर्किंदै गएपछि सरकारले उच्चस्तरीय छानविन कार्यदल गठन गरेको थियो।

कार्यदलले प्रतिवेदन बुझाएको एक महिना बित्न लागेको छ। प्रतिवेदनले चारै जना पदाधिकारीलाई कारबाही गर्न सिफारिस गरेको थियो। यस्तै, स्वास्थ्य मन्त्रालयले पनि आन्दोलनरत पक्षसँग ६ बुँदे सहमति गर्दै पदाधिकारीहरूलाई पदमुक्त गर्ने भने पनि कार्यान्वयन भएको छैन।

प्रतिक्रिया