चौकीदारलाई हटाउन भन्दै कैदीबन्दीद्वारा आन्दोलन

admin

काठमाडौं, २० भाद्र : ललितपुरको नख्खु कारागारमा कैदीबन्दीहरुले नाराबाजी र प्रदर्शन गरेका छन् । उनीहरुले ८ जना चौकीदारलाई हटाउनुपर्ने माग गर्दै आइतबार प्रदर्शन गरेका हुन् ।

रासनमा घोटाला गरेको, टेलिफोन सुविधा सहज नबनाएको, सरकारले दिने अन्य सुविधामा पनि आफ्नो मनोमानी गरेको भन्दै कैदीहरुले चौकीदारहरु विरुद्ध प्रदर्शन गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिएका छन् ।

कैदीहरुले जेलर चिरञ्जीवी गिरीसमक्ष चौकीदारलाई हटाउनु पर्ने माग राख्दै निवेदन समेत दिएका छन् । विशाल विष्ट मुख्य नाइके रहेको नख्खु कारागारमा कर्तव्य ज्यान, लागूऔषध, मानव तस्करी, हातहतियार-खरखजाना लगायतका कसुरमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरु छन् ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले चौकीदारहरुले हिनामिना गरेको पुष्टि भए तत्काल कारबाही हुने बताए । नख्खु कारागारमा एक हजार चार सय ८६ जना कैदीबन्दी रहेका छन् । प्रदर्शनलाई नियन्त्रण गर्न कारागारभित्र सुरक्षाकर्मीको संख्या बढाएपछि अहिले अवस्था सामान्य रहेको कारागारले जनाएको छ ।

प्रतिक्रिया