मैत्रीपूर्ण खेलमा नेपाल २–१ गाेल अन्तरले पराजित

admin

काठमाडौं, २० भाद्र : मैत्रीपूर्ण फुटबल खेलमा नेपाल २-१ गाेल अन्तरले पराजित भएकाे छ। दशरथ रंगशालामा भएको खेलमा भारतले नेपालिवरुद्ध दुई गाेल गरेकाे छ। दोस्रो हाफमा भारतले दुई गोल गरेको हो।

नेपालविरूद्ध पहिलो गोल भारतका फारूख चौधरीले ६२ औं मिनेटमा गरेका थिए। ७९ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गरेको गोलसँगै नेपालविरुद्ध जारी दोस्रो मैत्रीपूर्ण खेलमा भारतले २–० को अग्रता बनाएको छ।

कप्तान सुनिलले काउन्टर अट्याकमा सुन्दर गोल गरे। नेपालले कर्नर पाएको अवस्थामा भारतीय खेलाडीले क्लियर गरेका बलमा उत्कृष्ट गोल बनाएर सुनिलले भारतको अग्रता दोब्बर पारेका थिए।

खेलको ८६ औं मिनेटमा नेपालका तेज तामाङले गोल गर्दै खेल २–१ को अवस्थामा पुर्‍याए। भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले तीन परिवर्तन गरेको थियो। अघिल्लो खेल खेलेका अन्जन विष्ट, सुमन अर्याल र नवयुग श्रेष्ठ आजको खेलमा पहिलो रोजाइमा छैनन्।

सुजल श्रेष्ठ, मनिष डाँगी र आसिस लामाले पहिलो रोजाइमा स्थान पाएका छन्। नेपाल र भारतले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्। यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो।

प्रतिक्रिया