सङ्खुवासभा, २१ भदौ : सङ्खुवासभाको मादी नगरपालिका-१ को खोलागाउँमा एकै परिवारका ६ जनाको ह’त्या भएको छ । सोमबार बिहान स्थानीयले प्रहरीलाई खबर गरेपछि अहिले सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
प्रहरीका अनुसार अन्दाजी ५७ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको ह’त्या भएको हो । तेजबहादुरको ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका छन् । घटनास्थल सदरमुकामबाट झण्डै तीन घण्टाको दूरीमा पर्छ ।
घटनाबारे अनुसन्धान भइरहेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिएका छन् । इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक योगराज खतिवडाको टोली केही समय अगाडि घटनास्थलमा पुगेको उनले बताए । घटनाको खबर प्राप्त भएपछि डीएसपी लालध्वज सुवेदीको नेतृत्वमा जिल्लाबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रजिअ पौडेलले बताए ।