काठमाडौं, २२ भदौ : भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी आज (मंगलबार) घर–घरमा कुश भित्र्याएर मनाइँदै छ । साथै आजका दिन बुबाको मुख हेर्ने गरिन्छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा.रामचन्द्र गौतमले जानकारी दिए ।
यस्तै आज बुबालाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र मुख हेर्ने चलन छ । बुबा नहुनेहरू विभिन्न पवित्र ठाउँमा गएर तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिधा दिन्छन् । कुशे औँसीका दिन काठमाण्डौको गोकर्णेश्वर महादेव मन्दिरमा मेला लाग्ने गर्छ । विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसीका रुपमा पनि चिनिन्छ ।
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिधादान गर्नेहरूको भीड लाग्ने गर्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । तर यस वर्ष पनि कोरोना भाइरसको संक्रमण जोखिमका कारण मन्दिर क्षेत्र बन्द रहेको छ । मन्दिर छिर्ने नाकामा सुरक्षाकर्मी खटाएको गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए ।
यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेपनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण बढ्ने जोखिम कायमै रहेकाले मन्दिर क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरिएको छैन । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतबाट समेत हजारौँ भक्तजन पितृतृप्तिको कामनाले श्राद्ध गर्न आउने गरेका छन् ।