काठमाडौं, २२ भदौ : मंगलबार फेरि नेप्से ४४ अङ्कले घटेको छ । गएको आइतबार एक सय आठ अङ्कले घटेको शेयर बजार सोमबार एक सय ६२ अङ्कले बढेको थियो । अन्य र सामूहिक लगानी कोषबाहेक सबै समूहको शेयर ओरालो लागेपछि मंगलबार नेप्से ४४ दशमलव १८ अङ्कले घटेर दुई हजार नौ सय ३६ दशमलव ६० विन्दुमा झरेको छ ।
मंगलबार बैंकिङ समूहको शेयर ३३ अङ्कले, विकास बैंक समूहको ७२, व्यापारको ५४ र जलविद्युत् समूहको शेयर ५१ अङ्कले घटेको छ । यस्तै फाइनान्स समूहको ४९, माइक्रोफाइनान्सको एक सय ४६, जीवन बीमाको तीन सय दुई, निर्जीवन बीमा समूहको शेयर दुई सय ९० र उत्पादन समूहको शेयर एक सय ३३ अङ्कले घटेको छ ।
आरएमडीसी लघुवित्त र रुरु जलविद्युत् कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घट्दा पनि सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । मंगलबार दुई सय २२ कम्पनीका एक करोड ५० लाख कित्ता शेयर सात अर्ब ४९ करोड ५८ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै युनाइटेड मर्दी हाइड्रोको ६१ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।