वाग्मती प्रदेशमा ६ मन्त्री र ४ राज्यमन्त्रीद्वारा शपथ

admin

मकवानपुर, २३ भदौ : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार थप ६ मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेकी छिन् । दश जनाले बुधबार प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरेका छन् । नेकपा एमालेले भागबन्डा मिलाउनका लागि पहिलो पटक प्रदेशको सामाजिक विकास मन्त्रालय फुटाएको छ । अल्पमतमा रहेकी मुख्यमन्त्री शाक्यले ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन् ।

नवगठित मन्त्रिपरिषदमा डाक्टर अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएकी छिन् । विजय सुवेदी सामाजिक विकास मन्त्री र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिएको छ ।

नियुक्त भएका ६ मन्त्रीलाई प्रदेश प्रमुख यादव शर्माले शपथ ग्रहण गराए । मुख्यमन्त्री शाक्यले जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनालीलाई राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, बाटी उद्योग राज्यमन्त्री, श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।

राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री शाक्यले शपथ ग्रहण गराइन् । बुधबार नियुक्त भएकासँगै वाग्मती प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ । केही सांसदले माधव नेपाल नेतृत्वको नयाँ पार्टी रोजेसँगै वाग्मती सरकार अल्पमतमा छ ।

प्रतिक्रिया