एमालेद्वारा प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध

admin

काठमाडौं, २३ भदौ : प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि अवरोध पुर्‍याएको छ । सभामुख अग्निप्रसाद सापकोटाको भूमिका निष्पक्ष नभएको भन्दैनाराबाजीसहित एमाले सांसदहरुले बुधबारको बैठक चल्न नदिएका हुन् ।

यसअघि पनि बैठक सुरु हुनासाथ एमालेका सांसद्हरुले विरोध जनाएका थिए । सांसदहरुको नाराबाजी नरोकेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगन गरे ।

बैठक रोकेर एमालेका प्रमुख सचेतक विशाल भट्टराई र सचेत शान्ता चौधरीसँग निकासका लागि छलफल गरेका थिए । त्यस्तै बैठक अगाडि बढाउने विषयमा सत्तापक्षीय दलका प्रमुख सचेतक र सचेतकहरुसँग पनि छलफल गरेपछि दोस्रो बैठक सुरु गरेका थिए । तर एमालेले बैठक अघि बढ्न दिएन ।

सभामुख सापकोटाले प्रमुख प्रतिपक्षी दलको नाराबाजीकाबीच सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकका अध्यक्षता गर्नका लागि सांसदहरुको नाम मनोनयन गरेको पढेर सुनाए । जसमा चन्द्रकान्त चौधरी, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेणुकुमारी यादव, लालबाबु पण्डित, सत्य पहाडी, सरलाकुमारी यादव रहेका छन् ।

सभामुख सापकोटाले आफू संविधान, नियम, कानुन र ऐनअनुसार अगाडि बढ्न प्रतिबद्ध रहेको र आफूले संविधान, नियम, कानुनको बर्खिलाप केही नगरेको भन्दै पटक-पटक बैठक सञ्चालन दिन अनुरोध गरेपनि प्रतिपक्षी दलले निरन्तर नाराबाजी गरेर बैठक सञ्चालन गर्न नदिएका हुन् । एमालेको अवरोधपछि सभामुख सापकोटाले बैठक फेरि १५ मिनेटका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया