लिपुलेकमा पनि जनगणना गरिने

admin

काठमाडौं, २३ भदौ : सरकारले राष्ट्रिय जनगणना २०७८ कालापनी लिपुलेक क्षेत्रको पनि जनगणना गर्ने बताएको छ ।

यो क्षेत्र नेपालको राजनीतिक नक्शामा समेटिएको तर भोगचलनको स्वामित्व आएको छैन । ती क्षेत्रमा आफू एक्लैले जनगणना गर्न असम्भव भएकाले तीनै तहका सरकारसँग समन्वय गरेर भौतिक रुपमा नभए वैकल्पिक विधिबाट जनगणना गर्ने केन्द्रीय तथ्याकं विभागले जनाएको छ ।

राष्ट्रिय जनगणना आगामी कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने भएको छ । कोरोना महामारीका कारण स्थगित भएको राष्ट्रिय जनगणना पुनः सुरु गर्न लागिएको केन्द्रीय तथ्याङक विभागले जनाएको छ । विभागले तयार पारेको नयाँ कार्यतालिका भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

विभागले यसपालि ३९ हजार गणक तथा आठ हजार सुपरीवेक्षकले करिब ७० लाख परिवार तथा ३ करोड जनसंख्याको गणना काम पन्ध्र दिनमा सम्पन्न गर्नेछन् । गणकको लागि कक्षा १२ उत्तिर्ण र सुपरिवेक्षकको लागि स्नातक तह उत्तिर्ण हुनुपर्नेछ ।

कोरोना संक्रमणका जोखिम रहेकाले स्वास्थ्य मन्त्रालय तथा अन्य निकायसँग समन्वय भइरहेको विभागले जनाएको छ । जनगणनामा खटिने गणकहरुलाई कोरोना भ्याक्सिन उपलब्ध गराउने तथा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिने विभागले जनाएको छ ।

घर संख्या, भूकम्पपछि सरकारी अनुदानमा घर बनाए नबनाएको तथा भवन बनाउनुको उद्देश्य समेत संकलन गरिने छ । परिवारका सदस्यको बैँक खाता भए नभएको, प्रावधि शिक्षा तथा तालिम लिए नलिएको र वैदेशिक रोजगारमा गएकाको विस्तृत विवरण पनि संकलन गरिने छ ।

तीनै तहको सरकालाई योजना तर्जुमा गर्न आवश्य तथ्याकं जनस्तरमा गएर समेट्ने प्रयास हुने केन्द्रीय तथ्याकं विभागले जनाएको छ । जनगणना सम्पन्न गर्न ४ अर्ब रुपैंया लागत लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया