सरकार छाडेर सडकमा आउँछौं तर एमसीसी पारित गर्दैनौं : माओवादी केन्द्र

admin

काठमाडौं, २५ भदौ : नेकपा माओवादी केन्द्रका नेताहरुले एमसीसी इण्डोप्यासिफिक सैन्य रणनीतिको अंग भएको दाबी गर्दै सदनबाट पारित हुन नदिने अडान कसिलो बनाउर्दै लगेका छन् । नेताहरुले आवश्यकता परे सरकारबाट बाहिर आएर सडक तताउनेसम्मको चेतावनी दिएका छन् ।

एमसिसीकी उपाध्यक्ष फातिमा सुमारले शुक्रबार बिहान खुमलटारमै पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी छिन् । उक्त भेटमा दाहालले एमसिसी नेपालमा राष्ट्रिय बहसको विषय बनिसकेकाले राष्ट्रिय सहमति बनाएरमात्रै यसलाई पारित गर्नु पर्ने आफ्नो पार्टीको धारणा रहेको बताएका थिए ।

यस्तै माओवादी केन्द्रका नेता तथा वागमती प्रदेशका पूर्व मन्त्री युवराज दुलालले पनि बरु सरकार छाडेर सडकमा आउने तर एमसीसी पारित नगर्ने नीति रहेको प्रष्ट पारेका छन् । दाहाल निकट प्रभावशाली युवा नेता दुलालले विगतमा पनि सभामुख अग्नि सापकोटा र कृष्णवहादुर महरामार्फत प्रचण्डले एमसीसी पारित हुनबाट रोकेको खुलासासमेत गरेका छन् ।

उनले वृहत राष्ट्रिय सहमति नभई यथास्थितिमा एमसीसी पास गर्न सकिदैन भनेर प्रचण्डले फतिमा सुमारको टोलीलाई बताएको भन्दै यसको अर्थ एमसीसी पास गर्ने पक्षमा माओवादी नरहेको भनेर बुझ्नु पर्ने बताए ।

दाहालसँग सुमारको भेट लगत्तै दुलालले माओवादी नीति उदृत गर्दै भनेका छन्, ‘यथास्थिति र राष्ट्रिय सहमति कुटनीतिक भाषा हुन् । माओवादी राष्ट्रिय सुरक्षामा चुनौतिपूर्ण संशय रहेको एमसीसी पारित गर्ने पक्षमा छैन । बरु सरकार छोडेर सडकमा आउँछ तर एमसीसी पारित गर्दैन ।’ उनले राष्ट्रियताको सवालमा विदेशीसामू नुझुक्ने पार्टीको धारणा रहेको समेत बताएका छन् ।

प्रतिक्रिया