राष्ट्रिय सभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस

admin

काठमाडौं, २५ भदौ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच राष्ट्रिय सभाको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश-२०७८ पेस गरिएको छ । शुक्रबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर अवरोध जनाएका थिए । तर एमाले सांसदहरूको अवरोधकाबीच गृह मन्त्री बालकृष्ण खाणले त्यो अध्यादेश पेस गरेका हुन् ।

त्यसैगरी बैठकले संविधान सभा सदस्य जुठबहादुर खड्गी जेबी टुहुरे र अर्का संविधान सभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति शोक प्रस्ताव समेत पारित गरेको छ । जनवादी गायक टुहुरे नेकपा माओवादी केन्द्रबाट संविधान सभा सदस्य थिए भने सञ्चार उद्यमी शेरचन एमालेबाट संविधान सभा सदस्य सदस्य भएका थिए ।

यो प्रस्ताव पारित गर्नुअघि एमालेका सांसद देवेन्द्र दाहालले प्रतिनिधि सभामा सभामुख अग्निप्रसाद सापकोटा, सरकार र निर्वाचन आयोगले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहितका १४ जना सांसदलाई संरक्षण गरेर पार्टी फुटाउने काम गरेको भन्दै बैठक चल्न नदिने जानकारी गराएका थिए । एमालेले गएको २३ गते बुधबारदेखि सुरु भएको सङ्घीय संसद्को दुवै सदनमा अवरोध गर्दै आएको छ । राष्ट्रिय सभाको अर्को बैठक आउँदो भदौ २८ गते सोमार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया