एमसीसी सम्झौता पारित गर्नु नेपाली नागरिकका लागि ‘विष सरह’ हुन्छ : सांसद सुवाल

admin

काठमाडौं, २५ भदौ : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता पारित गर्नु नेपाली नागरिकका लागि ‘विष सरह’ हुने टिप्पणी गरेका छन् । नेकपा एमालेका सांसदहरूको चर्को नाराबाजीबीच शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले विश्वलाई नै दुःख दिने नियतका साथ आएको यो सम्झौताबारे द्विविधामा नपर्न प्रतिनिधि सभाका सांसदहरूलाई समेत आग्रह गरे ।

नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारप्रति सङ्केत गर्दै उनले अमेरिकी अधिकारीले यो सम्झौताको सम्बन्धमा सय थरी कुरा गरिरहेको उल्लेख गर्दै त्यस्ता कुरामा फस्न नहुने पनि बताए । सांसद सुवालले राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा प्रदर्शन गर्दा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै सरकारको चर्को आलोचना पनि गरे ।

सांसद सुवालले भने, ‘अमेरिकी साम्राज्यवादले संसारलाई दुःख दिने कुरा संसारका सबै नागरिकलाई थाहा भएकै कुरा हो । यो यथार्थता नेपाली नागरिकले पनि बुझिसकेका छन् । यो सङ्घीय संसद्का सबै माननीयहरू द्विविधामा पर्नु आवश्यक छैन । बूढो बाघले शिकार गर्न नसकेपछि चुरा देखाउने र झम्टने कथा हामी सबैलाई थाहा छ । विष भनी थाहा पाइकन खाए के हुन्छ ? एमसीसी त्यही हो । अमेरिकी अधिकारीहरूले सय थरी कुरा गर्दैछन् । हामी उनीहरूका सय थरी कुरामा फस्नु हुन्न ।’

प्रतिक्रिया