एमालेको विरोध र नाराबाजीबीच तीन अध्यादेश स्वीकृत, विपन्न परिवारलाई खाना, दीर्घ रोगीलाई मासिक पाँच हजार भत्ता

admin

काठमाडौं, २५ भदौ : अर्थ मन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको तेस्रो बैठकमा अर्थ मन्त्री शर्माले चालु आव २०७८/०७९ को राजस्व र आय-व्ययको अनुमानित आय-व्यय परिमार्जनसहित प्रस्तुत गरेका हुन् ।

पेस गरिएको विधेयकमा बहुआयामिक गरिबी घटाउने, उच्च आर्थिक दर कायम गर्ने र समावेशी आर्थिक नीति अवलम्बन गर्नेलगायत महत्त्वपूर्ण विषय समावेश रहेको छ । विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रतिनिधि सभासमक्ष प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोध र नाराबाजीका बीच उनले विधेयक प्रस्तुत गरेका हुन् ।  सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदले उठेर रोस्टम घेराउ गर्दै नाराबाजी गरेका थिए । यस्तै सरकारले शुक्रबार प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको छ ।

चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो । बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गरी बचत भएको पाँच अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको अर्थ मन्त्री जनार्दन शर्माले जानकारी दिए ।

साथै सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थ मन्त्री शर्माले यस्ता गम्भीर रोगका बिरामीलाई पाँच हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

नेकपा एमालेको अवरोधकाबीच नै मन्त्री शर्माले प्रतिनिधि सभामा विनियोजन विधेयक पेस गरेका हुन् । तेस्रो बैठकमा शर्माले विनियोजन विधेयक पेस गरे । मन्त्री शर्माले संयुक्त सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रतिस्थापन विधेयक ल्याएको बताए । यसैगरी विपन्न परिवारलाई काठमाडौंका दश ठाउँमा खाना खुवाइने भएको छ ।

मन्त्री शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै सो घोषणा गरेका हुन् । संसदमा प्रतिपक्षी दल नेकपा एमालेका सासंदहरूले नाराबाजीबीच नै मन्त्री शर्माले बजेट पेश गर्दै विपन्न परिवारलाई काठमाडौंका दश ठाउँमा खाना खुवाइने घोषणा गरेका हुन् । सो काम सामाजिक संस्थाको सहयोगमा गर्ने उनले बताएका छन् ।

तीन अध्यादेश स्वीकृत

त्यस्तै शुक्रबारको बैठकले ‘आर्थिक अध्यादेश २०७८’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश २०७८’ र ‘विनियोजन अध्यादेश २०७८’ लाई स्वीकृत गरेको छ । प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध र नाराबाजीबीच अर्थ मन्त्री जनार्दन शर्माले प्रस्तुत गरे ती अध्यादेश सदनको बहुमतले स्वीकृत गरेको हो ।

यसअघि ती अध्यादेश अस्वीकृत गरियोस् भनी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रस्तुत गर्नुभएको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । नाराबाजीका कारण स्थगित भइ सुरु भएको दोस्रो बैठक सभामुख अग्निप्रसाद सापकोटाले प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्ष दलका सांसदले रोस्टम घेराउ गर्दै निरन्तर नाराबाजी जारी राखेका थिए ।

त्यही नाराबाजीका बीचमा सभामुख सापकोटाले आर्थिक अध्यादेश २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना पेस गर्नुहुने नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललाई बोल्न समय प्रदान गरेसँगै सदनको काम कारबाही अघि बढेको थियो ।

अध्यादेशका बारेमा उठेका प्रश्नको जवाफ दिँदै उनले पुँजी बजारमा गैरकानुनी ढङ्गबाट आफूखुशी मूल्य घटबढ गराउने कुरा सत्य नभएको स्पष्ट पार्दै धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा भएको भनिएको अनियमितताको छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गरिएको जानकारी गराए ।

प्रतिक्रिया