बहराइनमा नेपालीसहित विभिन्न देशका श्रमिक आन्दोलित, समस्या समाधानका लागि निरन्तर सम्पर्क भइरहेको छ : दूतावास

admin

काठमाडौं, २७ भदौ : नेपाली श्रमिकको समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर पहल भइरहेको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

केही दिनदेखि बहराइनको बाम्को प्रोजेक्टको ठेक्का पाएको नासिर सिड अलहाजरी कर्पोरेसनमा (एनएसएच) कार्यरत नेपाली श्रमिक र त्यहाँको व्यवस्थापन बीचको विवाद समाधानका लागि भएको प्रारम्भिक शाखा कार्यान्वयनका लागि निरन्तर प्रयास भइरहेको भन्दै दूतावासले संयमता अपनाउन नेपाली श्रमिकलाई अनुरोध समेत गरेको छ ।

सोही कम्पनीमा कार्यरत श्रमिकले सुरक्षा र स्वास्थ्यकर खाना दिनुपर्ने माग राख्दै गएको मंगलबारबाट काम छाडेर क्याम्पमा नै बसेर आन्दोलन थालेका थिए । श्रमिकहरूले काम छाडेपछि नेपाली दूतावास, बहराइन सरकार, रोजगारदाता कम्पनी र श्रमिकबीच गएको ७ सेप्टेम्बरमा छलफल भएको थियो । छलफलमा बहराइन सरकारले नै समस्या समाधानको खाका श्रमिक समक्ष राखेको थियो ।

बहराइन सरकारले राखेको प्रस्तावमा सबै श्रमिक सहमत भएको र सबैले सहमति जनाको खाका कार्यान्वयनका लागि दूतावासले बहराइन सरकारले श्रम मन्त्रालय, रोजगारदाता कम्पनी र दूतावाससँग निरन्तर सम्पर्क गरिरहेको पनि जनाएको छ ।

वार्तामार्फत नै समस्याको समाधान हुने भन्दै दूतावासले सबै श्रमिकलाई केही समय संयमता अपनाइ समस्या समाधानका लागि बनेको खाकालाई पूर्णता दिन पनि अनुरोध समेत गरेको छ । एनएसएच कम्पनीमा कार्यरत झण्डै ७ सय नेपालीसहित अन्य विभिन्न देशका श्रमिकहरू पनि आन्दोलनमा छन् ।

श्रमिकहरूले ग्यास र तेल प्रशोधन केन्द्रको बिचमा क्याम्प राखिएकोले स्वास्थ्यमा गम्भीर समस्या परेको भन्दै तुरुन्तै क्याम्पलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग राखेका छन् । खाना खान पनि मेसमा कम्तीमा आधा घण्टा पालो कुर्नु पर्ने र एकै पटक सयौं जम्मा हुने मेसमा पर्याप्त चिसो पुग्ने क्षमताको एसीको व्यवस्था नहुँदा समस्या भएको पनि श्रमिकले गुनासो गरेका छन् । यस्तै कम्पनीले श्रमिकलाई स्वस्थ्यकर र पोषणयुक्त खाना पनि नदिएको श्रमिक बताउँछन् ।

प्रतिक्रिया