सांसदलाई ओलीको निर्देशन : वेल भन्दा बाहिर गएर फाल्तु नारा नलगाउनुस्, ‘सभामुखलाई माइक हान्ने योजना थिएन’

admin

काठमाडौं, २७ भदौ : नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई संसदीय मर्यादाभित्र बसेर मात्र विरोध गर्न सांसदहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष ओलीले सभामुख, सभामुखको कुर्सीमा बस्न लायक नभएको बताउँदै प्रमुख प्रतिपक्षी दल फुटाउन सभामुखको ‘षड्यन्त्रपूर्ण संलग्नता’ भएकाले संसदको अवरोध कायम राख्ने समेत बताएका छन् ।

तर, पार्टीले तोकेका नाराहरु मात्र लगाउन र संसदीय मर्यादामा बसेर विरोध गर्न उनले सांसदहरुलाई निर्देशन दिएका हुन् । आइतबारको बैठकमा अध्यक्ष ओलीले संसदीय मर्यादाभित्र बसेर मात्र विरोध गर्न सांसदहरुलाई निर्देशन दिएसँगै वेलमा जाने र तोकिएको नारा मात्र लगाउने पार्टीको निर्धारित कार्यक्रम रहेको भन्दै उनले भने, ‘म माननीयजीहरुलाई आग्रह गर्न चाहन्छु, संसदीय मर्यादाभित्र तोकिएका नाराहरु छन् । त्योभन्दा फाल्तु नारा हामी लगाउँदैनौं ।’

उनले अघि भने, ‘हामी वेलमा जान्छौं । नारा लगाउँछौं । सामान्य अवस्था आयो भने विस्तारै नारा लगाउने, अलिकति बढी एग्रेसिभ भएर सभामुख वा सत्तापक्ष आउँदा चर्को आवाजमा लगाउने हुनसक्छ । तर हामीले नारा लगाउने र वेलमा जाने भन्दा बाहिर जानु हुँदैन ।’ यस्तै अध्यक्ष ओलीले सभामुखलाई माइक हान्ने आफूहरुको कुनै योजना नभएको बताएका छन् ।

बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्ने क्रममा शुक्रबार एमाले सांसद रेखाकुमारीले गृहमन्त्रीको माइक खोसेकी थिइन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सभामुखको टाउकोमा माइक हाल्ने योजना रहेको प्रतिक्रिया दिएकी थिइन् । तर संसदीय दलको आइतबार बसेको बैठकमा एमाले संसदीय दलका नेता एवं अध्यक्ष ओलीले त्यसको खण्डन गरे । ‘माइक हान्ने योजना थिएन, नभएको कुरा बोल्नु हुँदैन’, उनले भने ।

(अस्ति) शुक्रबार प्रतिस्थापन विधेयक पेश गर्ने क्रममा एमाले सांसदहरुले रोष्टममा चढ्ने प्रयास गरेका थिए भने गृहमन्त्रीको माइक खोसेका थिए । त्यसको चर्को आलोचना भएपछि एमालेले सांसदहरुलाई प्रशिक्षित गर्न भन्दै आइतबार संसदीय दलको बैठक राखेको थियो ।

प्रतिक्रिया