‘सोर्स फोर्स’ लगाउने काम बन्द गर्नुहोस् : अर्थ सचिव

admin

काठमाडौं, २७ भदौ : अर्थ सचिव मधुकुमार मरासिनीले भन्सार प्रशासनलाई तीन ‘स’ को अवधारणामा काम गर्न आग्रह गरेका छन् । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई आइतबार सम्बोधन गर्दै अर्थ सचिव मरासिनीले सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात् गरी काम गर्नुपर्नेमा जोड दिए ।

उनले सरुवा वा बढुवाका लागि कुनै पनि दल, नेता वा सङ्गठनको फोन लगाउने कार्य तत्काल बन्द गर्न निर्देशन दिए । सरुवाका लागि फोन गराइ दबाब सिर्जना गर्ने कर्मचारीहरूको माग सुनुवाइ नहुने अर्थ सचिव मरासिनीले स्पष्ट पारे । उनले भने ‘त्यसरी फोनमा सोर्स फोर्स लगाउने कर्मचारीले आफ्नो इन्टिग्रेटीमा कम्प्रोमाइज गरिसकेको हुन्छ, इन्टिग्रेटी गुमाइसकेका कर्मचारीले कस्तो काम गर्छन्, त्यो आफैँ बुझ्नुहुन्छ ।’

यस्तै राजश्व सचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमानदारितामाथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिए । उनले सेवाग्राहीका गुनासालाई तत्काल सम्बोधन गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए । त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगहरूको संरक्षण र प्रोत्साहन गर्ने गरी नीति आएकोमा सरकारलाई धन्यवाद दिए ।

उनले करको दर हेरफेरमा निजी क्षेत्रको सुझाव समेटिएको भन्दै खुसी व्यक्त गरे । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नक लागि कच्चा पदार्थ आयातमा तयारी वस्तुको तुलनामा दुई तह कम दरको कर लगाउनुपर्नेमा ढकालले जोड दिए । यसैगरी भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले लक्ष्यअनुसारको राजस्व सङ्कलन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले सदाचारलाई शिरमा तथा देशको हितलाई छातीमा राखेर काम गर्न मातहतका कार्यालय प्रमुख तथा कर्मचारीहरूलाई निर्देशन दिए ।

प्रतिक्रिया