संक्रमण दर आठ प्रतिशतमा झर्‍यो, थप १३ जनाले ज्यान गुमाए

admin

काठमाडौं, २७ भदौ : नेपालमा कोरोना संक्रमण दर १० प्रतिशतभन्दा तल झरेको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएदेखि पहिलो पटक आइतबार संक्रमण दर १० प्रतिशतभन्दा तल ८ दशमलव २६ प्रतिशतमा झरेको हो । बितेको २४ घण्टामा एन्टिजेन र पीसीआर गरी ११ हजार १८ जनाको नमुना परीक्षण गर्दा नौ सय ११ जनामा संक्रमण देखिएको छ ।

दैनिक एक हजारभन्दा कम संक्रमित भेटिएको आइतबार दोस्रो दिन हो । झन्डै पाँच महिनापछि (हिजो) शनिबार पनि एकै दिन संक्रमण पुष्टि हुनेको संख्या एक हजारभन्दा कम थियो । आइतबार थपिएका नौ सय ११ जनासहित नेपालमा संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ६३ हजार आठ सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप एक हजार चार सय २३ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या सात लाख ३९ हजार चार सय ५७ पुगेको छ । यही अवधिमा थप १३ जना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार नौ सय ४९ पुगेको छ । अहिले नेपालमा २६ हजार सात सय ५७ जना सक्रिय संक्रमित रहेकामा चार सय ५४ जनाको आईसीयू र एक सय ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया