यसवर्ष औसतभन्दा बढी वर्षा, मौसम खुल्न अझै करिब २५ दिन लाग्ने

admin

काठमाडौं, २७ भदौ : मनसुनको अवधि जुन–सेप्टेम्बर पूरा नहुँदै मुलुकमा औसतभन्दा बढी पानी परेको छ। अझ उत्तरी भूभागमा धेरै वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ। नेपालमा यसपाली मनसुन दुई दिन ढिला जेठ २८ गते भित्रिएको थियो। आगामी असोज १७ को आसपास मनसुन बाहिरिनेछ।

देशका विभिन्न मुख्य २० वर्षा मापन केन्द्रका आधारमा निकालिएको औसत मौसमी विवरणअनुसार मनसुनको ४ महिनामा सरदर १ हजार ४ सय ३ मिलिमिटर पानी पर्थ्यो तर अहिले १८ दिनअघि नै १ हजार ५ सय २७ मिलिमिटर पानी परिसकेको छ।

मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखा प्रमुख वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेलका अनुसार सेप्टेम्बर १२ अर्थात् आजसम्मको विश्लेषण गर्दा सरदर एक हजार २ सय ६८ मिलिमिटर वर्षा हुनुपर्ने थियो।

तर, विवरणअनुसार औसतभन्दा २ सय ६९ मिलिमिटर धेरै पानी परिसकेको छ। यो सरदर वर्षाको अनुपातमा आजसम्मको वर्षा विश्लेषण गर्दा १ सय २० दशमलव ४ प्रतिशत हो। उनका अनुसार ९० देखि १ सय १० प्रतिशतलाई सरदर वर्षाको अनुपात मानिन्छ।

काठमाडौंमा पनि यसपाली धेरै वर्षा भइसकेको छ। विभागका अनुसार काठमाडौंमा आज (आइतबार) सम्म सरदर १ हजार ७२ दशमलव ५ मिलिमिटर वर्षा हुनुपर्नेमा १ हजार ३ सय ५१ दशमलव २ मिलिमिटर पानी परिसकेको छ। मनसुनको अवधि (सेप्टेम्बर अन्तिम) सम्म १ हजार १ सय ७६ मिलिमिटर पर्नुलाई सरदर वर्षा मानिन्छ।

काठमाडौंमा आजसम्मको तुलना गर्दा १ सय २६ प्रतिशत पानी परिसकेको छ। ४ महिनाको मनसुन अवधिको औसत भने १ सय १५ प्रतिशत हो। प्राप्त विवरणअनुसार यस वर्ष जोमसोममा सबैभन्दा धेरै वर्षा भएको छ। सरदर १ सय ३७ दशमलव १ मिलिमिटर पानी पर्नुपर्नेमा त्यहाँ ३ सय ३९ दशमलव ३ मिलिमिटर पानी परिसकेको छ।

कँडेलका अनुसार यो सरदरको २ सय ५४ दशमलव ८ प्रतिशत हो। यसपाली धेरै पानी परेको दोस्रो केन्द्र भैरहवा हो। त्यहाँ १ सय ४० दशमलव ७ प्रतिशत वर्षा भएको छ। उनका अनुसार आजसम्म १ हजार २ सय ४९ दशमलव ८ प्रतिशत सरदर वर्ष हुनुपर्नेमा १ हजार ९ सय २५ मिलिमिटर पानी परिसकेको छ।

मुलुकमा यसपाली औसतभन्दा धेरै वर्षा हुने आकलनबीच भीषण वर्षापछिको बाढी, पहिरो र डुबानले ७१ जिल्ला नराम्ररी प्रभावित भए। मुख्यतः सिन्धुपाल्चोक, मनाङ, पाल्पा, कास्की, दाङ, पर्वतलगायत एक दर्जन जिल्ला मानवीय र भौतिक क्षतिका दृष्टिले बढी प्रभावित भए।

सरकारले मनाङ र सिन्धुपाल्चोकलाई त विपद संकटग्रस्त जिल्ला नै घोषणा गरेर आवश्यक पुनरूत्थान अघि बढाइसकेको छ। मनसुनजन्य घटना (बाढीपहिरो र डुबान) बाटै यसपाली देशभरि १ सय ३० को मृत्यु भयो भने ४१ जना अझै हराइरहेका छन्। सबैभन्दा बढी सिन्धुपाल्चोकमा मानवीय क्षति भएको छ। त्यहाँ गत वर्ष पनि विपदबाट सबैभन्दा बढी प्रभावित थियो।

जल तथा मौसम विज्ञान विभागले गत वैशाखमै मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती प्रदेशका अधिकांश स्थान तथा प्रदेश १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सरदरभन्दा बढी (३५ देखि ६५ प्रतिशत) वर्षा हुने अनुमान गरेको थियो।

उच्च हिमाली क्षेत्रमा भने ५५–६५ प्रतिशत वर्षा हुने आकलन थियो। प्रदेश १ को तराई र प्रदेश २ को पूर्वी जिल्लामा सरदरभन्दा थोरै वर्षा हुने अनुमान गरिएको थियो। विभागले विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारुप, जल तथा मौसम विज्ञान विभागको मनसुनी वर्षा र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनका आधारमा निष्कर्ष निकाल्ने गरिन्छ।

के अब मौसम खुलेकै हो ?
ठूलाठूला विपद्का घटना निम्तिएपछि पछिल्ला केही दिनदेखि विस्तारै मौसम सफा हुँदै गएको हो कि भन्ने महसुस गराएको छ। कर्णाली प्रदेशबाहेक आज धेरै ठाउँमा घाम लागिरहेको छ। के अब मौसम खुलेकै हो त? प्रश्न मौसमविद्सँग राख्दा त्यो अनुमान अहिले नै गरिहाल्नु हतार हुने प्रतिक्रिया प्राप्त भएको छ। उनीहरूका अनुसार अझै विपद टरिसकेको छैन।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद सुमनकुमार रेग्मी भन्छन, ‘मनसुन नसकिँदासम्म जोखिम कायमै रहन्छ, खुलेको जस्तो देखिए पनि कुनै पनि बेला मनसुन सक्रिय भएर मुसलधारे वर्षा हुनसक्छ, नियमित अपडेटमा रहनुपर्छ।’

जेठ ३० गतेदेखि देशैभरि सक्रिय भयो। त्यसको अर्को दिनबाटै भारी वर्षा सुरु भई जनजीवन प्रभावित बनायो। सुरुआती वर्षाले मनाङ र सिन्धुपाल्चोकलगायत जिल्लामा ठूलो जनधनको क्षति गरायो। असार १ र असार १६ गतेको वर्षाले सिन्धुपाल्चोकमा क्षति भयो। अघिल्लो हप्ता तराईका जिल्लामा भारी वर्षा हुँदा बाढी र डुबानको समस्या निम्तियो।

गृहमन्त्रालयबाट प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन्। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा मात्रै २ सय ४७ घर बाढीले भत्काएको छ। कूल १ हजार ७ सय रोपनीभन्दा बढी जमिन कटान गरेको छ। त्यहाँ ३ अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ।

उता जिल्लाको हेलम्बू गाउँपालिकामा २ सय २७ घर बगे। कूल २ हजार १ सय रोपनीभन्दा बढी जग्गा कटान बाढीले गरेको छ। यस्तै पाल्पामा ६, कास्कीमा ७, दाङमा १० र पर्वतमा १३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद समीर श्रेष्ठ अहिले मुलुकभर मौसम सामान्य बदली रहे पनि कर्णाली प्रदेशमा छिटफुट वर्षा भइरहेको जानकारी दिन्छन्।

‘सोमबार पनि मौसम सामान्य नै छ, मंगलबार केही बदली हुनसक्छ,’ उनले भने। उनले पनि तत्कालै भारी वर्षाको सम्भावना भने नदेखिएको बताए। यद्यपि मनसुन नबाहिरिँदासम्म कुनै पनि बेला बदली हुने श्रेष्ठको भनाइ छ।

वैशाख यताका घटना र मानवीय क्षति
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख यता कूल १ हजार ७ सय ६२ विपदका घटना भएका छन्। ती घटनाबाट २ सय ३४ जनाको मृत्यु भएको छ। यसमा बाढीपहिरो र डुबानबाहेक विपदजन्य घटनासमेत समावेश छ।

३ घटनामा ४१ जना हराइरहेका छन् भने ४ सय ६४ घाइते भए। कुल २ हजार २ सय ७८ परिवार प्रभावित छन्। कूल ७ अर्ब ७७ करोड रूपैयाँ बराबरको क्षति भएको अनुमान छ।

जसमा सबैभन्दा बढी ६ सय ७९ आगलागी भए। यद्यपि मानवीय क्षतिका हिसाबले भने सबैभन्दा बढी पहिराेबाट ७७ ले ज्यान गुमाएका छन्। सबैभन्दा बढी बाढीमा परेर ३२ बेपत्ता भएका छन्।

प्राप्त विवरणअनुसार आगलागीबाट १४, पहिराेबाट ७७, बाढीबाट ३८, अविरल वर्षाका कारण १६, चट्याङबाट ४८, सर्पको टोकाइबाट १६, डढेलोबाट ३, हावाहुरीका कारण १ र जनावरको आक्रमणबाट २१ जनाले ज्यान गुमाएका छन्। रासस

प्रतिक्रिया