एमाले विवादः १० बुँदे सहमति कार्यान्वयनमा ओलीको आनाकानी

admin

काठमाडौं, २८ भदाै : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बिहान एमाले शीर्ष नेताहरू जम्मा भए । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र लेखराज भट्ट तथा सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा अध्यक्ष ओलीको निजी निवास पुगेका थिए ।

उनीहरू अध्यक्ष ओली निवास पुग्नुको कारण थियो, सुदूरपश्चिम प्रदेश इन्चार्जसम्बन्धी विवाद निरुपण गर्नू । सो प्रदेशको पार्टी इन्चार्जमा उपाध्यक्ष रावल र माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका लेखराज भट्ट दुवैको दाबी थियो । उनीहरू दुवैले इन्चार्ज दाबी नछाडेपछि विवाद बढ्दै गएको थियो । २ जेठ २०७५ मा फर्कने १० बुँदे सहमति कार्यान्वयन गर्दा सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज रावल नै हो । उनले सोहीअनुसार आफू इन्चार्ज भएको दाबी गर्दै आएका थिए ।

तर, पार्टी विभाजनअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले समानान्तर रूपमा पार्टी गतिविधि सञ्चालन गर्दा नेपाल पक्षमा उभिएपछि अध्यक्ष ओलीले रावलको जिम्मेवारी खोसेर इन्चार्जको जिम्मा भट्टलाई दिएका थिए । भट्ट गत २३ फागुनपछि एमाले सुदूरपश्चिम इन्चार्ज तोकिएका हुन् । त्यसैले उनले पनि इन्चार्जको दाबी नछाडेका हुन्् ।

विवाद निरुपणका लागि भएको छलफलमा सुदूरपश्चिम इन्चार्ज आफैंले पाउने रावलको अपेक्षा थियो । १० बुँदे सहमतिमा तलमाथि हुँदैन भन्ने उनको बुझाइ थियो । तर, अध्यक्ष ओलीले सुदूरपश्चिम इन्चार्ज भट्ट नै भएको भन्दै मुख खोले । रावललाई भने उपाध्यक्ष भएर काम गर्न निर्देशन दिए । अध्यक्ष ओलीले अहिलेको पार्टी संरचनामा कुनै फेरबदल नगरिएको बताउँदै १० बुँदेमा अल्झिएर नबस्नसमेत निर्देशन दिए ।

‘२ जेठ २०७५ जस्ताको त्यस्तै कार्यान्वयन हुन सक्दैन, यसमा प्रस्ट हुनुस् । १० बुँदे सहमति जस्ताको त्यस्तै कार्यान्वयन गर्ने अवस्था छैन,’ छलफलमा ओलीले रावललाई भने, ‘कार्यविभाजन यथावत छ, जिम्मेवारी परिवर्तन भएको छैन । तपाईं उपाध्यक्ष हो, उपाध्यक्ष र १० बुँदे सहमतिको सहजीकरणको जिम्मेवारी निर्वाह गर्नुस् ।’

सुदूरपश्चिम प्रदेशमा १० बुँदे कार्यान्वयनका सन्दर्भमा सहजीकरण गर्न ओलीले रावल, भट्ट र कर्णबहादुर थापालाई जिम्मेवारी दिएका छन् । केन्द्रीय सदस्यसमेत रहेका सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष थापाले आफूसहित तीन जना नेताले सुदूरपश्चिममा सहजीकरणको जिम्मेवारी अध्यक्षबाट पाएको बताए ।

‘सुदूरपश्चिम प्रदेश कमिटीको इन्चार्ज लेखराजजी र अध्यक्ष म नै हो । उपाध्यक्ष भएको नाताले उहाँ (रावल)ले समेत गरी तीन जनाले सहजीकरणको जिम्मेवारी पाएका छौं,’ थापाले भने । २ जेठमा फर्किने सहमति भए पनि यसबीचमा विभिन्न नेताहरूको जिम्मेवारी फेरबदल भइसकेकाले आउने केन्द्रीय कमिटी बैठकले पुनः अर्को जिम्मेवारी बाँडफाँट नगर्दासम्म अहिलेकै जिम्मेवारीअनुसार अगाडि बढ्ने थापाको भनाइ थियो ।

सर्वोच्च अदालतले २३ फागुनमा एमाले ब्युँताएपछि पार्टीभित्र विवाद चर्किएको थियो । त्यसपछि २७ असारमा ओली र माधवकुमार नेपाल समूहबाट पाँच÷पाँच जना नेता सहभागी कार्यदलले पार्टी एकताका लागि १० बुँदे प्रस्ताव गर्दै सहमति गरेका थिए ।

ओली समूहबाट नेम्वाङ र नेपाल समूहबाट रावल संयोजक रहेको सो कार्यदलले गरेको प्रस्तावमा ‘पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठन नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्थाबमोजिम २०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरू मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुने’ उल्लेख छ ।

तर, नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेपछि रावलसहितका नेताहरू ओली समूहमै फर्किए । १० बुँदे सहमति कार्यान्वयन गर्ने वाचापछि नेपाललाईै साथ दिँदै आएका रावलसहितका नेताहरू एमालेमै फर्किएका थिए । तर, अहिले ओली आफैंले त्यो सहमति कार्यान्वयन नगर्दा दोस्रो पुस्ताका नेता जिम्मेवारीविहीन हुनुका साथै अलमलमा परेका छन् ।

ओली–रावल वादविवाद
छलफलमा रावलले पार्टी २ जेठ २०७५ मा फर्केपछि आफूले नै सुदूरपश्चिमको इन्चार्ज हुनुपर्ने अडान ओलीसमक्ष राखेका थिए । ‘पार्टी जेठ २ मा फर्कने भनेपछि त्यहीअनुसार अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो,’ रावलले बालकोटमा ओलीको भनाइप्रति असहमति प्रकट गर्दै भनेका थिए ।

तर, ओलीले रावलको भनाइप्रति असहमति जनाउँदै सहजीकरणको मात्रै नेतृत्व लिन निर्देशन दिएपछि केहीबेर विवाद भएको थियो । त्यसपछि रावललाई ओलीले उपाध्यक्ष र सहजीकरणको जिम्मेवारी मात्र निर्वाह गर्न कडा निर्देशन दिएका थिए । त्यसपछि भने रावल चुप बसेका थिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया