संवैधानिक इजलासको विवाद मिलाउन आज बार-बेञ्च समन्वय समितिको बैठक बस्दै

admin

काठमाडौं, २८ भदौ : संवैधानिक इजलासको विवाद मिलाउन सोमबार बार–बेञ्च समन्वय समितिको बैठक बस्दैछ । संवैधानिक इजलासमा बस्ने कि नबस्ने भन्ने विषयमा छलफल गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दिउँसो २ बजे बस्ने गरी समन्वय समितिको बैठक बोलाएका हुन् ।

समितिमा सर्वोच्च अदालत बार एसोसियशनका अध्यक्ष, नेपाल बार एसोसिएशनका अध्यक्ष, पूर्वअध्यक्षसहित पाँच जनाको सहभागिता हुनेछ । सर्वोच्च अदालतबाट पनि पाँच जनाको सहभागिता रहनेछ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अध्यादेशपछि भएको नियुक्तिविरुद्ध परेको रिट सुनुवाइको विषयलाई लिएर लामो समयदेखि संवैधानिक इजलासमा सुनुवाइ रोकिएको छ ।

संवैधानिक परिषद्सम्बन्धी रिटमा प्रधानन्यायाधीश राणा आफैँले विपक्षी भएको मुद्दा हेर्न नमिल्ने कानुन व्यवसायीको मागपछि उनले अलग हुने निर्णय गरेका थिए । तर न्यायाधीश हरि फुँयालको एकल इजलासले प्रधानन्यायाधीश विना संवैधानिक इजलास बस्न सक्ने वा नसक्ने विवाद राष्ट्रिय महत्त्व भएकाले तत्काल संवैधानिक नियुक्तिविरुद्ध परेका निवेदनमा सुनुवाइ नगर्न आदेश दिएको थियो ।

संवैधानिक इजलास गठन नहुने भन्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धका मुद्दाको सुनुवाइ रोक्ने अन्तरिम आदेशपछि संवैधानिक इजलास गठनको विवाद बढेको छ । यो विवाद समाधानका लागि प्रधानन्यायाधीश राणाले समन्वय समितिको बैठक बोलाएका हुन् ।

प्रतिक्रिया