एमालेको अवरोधबीच लोक सेवा आयोग विधेयक पारित, भदौ ३० गतेसम्म राष्ट्रिय सभा बैठक स्थगित

admin

काठमाडौं, २८ भदौ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको अवरोधका बीच राष्ट्रिय सभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक २०७८ पारित गरेको छ । राष्ट्रिय सभाको बैठकमा एमालेका सांसदले अवरोध गरेका थिए ।

अवरोधकाबीच राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक २०७८ निर्णयार्थ पेस गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका थिए । उक्त प्रस्ताव निर्णयार्थ पेस गर्दै बहुमतले पारित भएको राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले घोषणा गरे ।

यसअघि एमालेकी सांसद कोमल वलीले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा नदिइ बैठक सुरु हुन नदिने अडान राखेकी थिइन् । उनले परमादेशबाट सरकार र अध्यादेशबाट पार्टी फुटाउने कामले लोकतन्त्रलाई समाप्त गर्ने भएकाले आफ्नो पार्टीले सभामुख सापकोटाको आफ्नो दल फुटाउने षड्यन्त्रविरुद्ध उभिनुपरेको पनि पटक-पटक दोहोर्‍याइन् ।

एमालेका सांसदको अवरोधकाबीच राष्ट्रिय सभाको दोस्रो बैठकले राष्ट्रिय सभाका पूर्व सांसद रुक्मशम्शेर राणाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । गएको भदौ २६ गते काठमाडौंमा उनको निधन भएको थियो । उनी २०४८ सालमा राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए ।

यसैबीच राष्ट्रिय सभाको अर्को बैठक आउँदो भदौ ३० गते बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ । सोमबार बसेको पहिलो बैठकमा एमालेले अवरोध गरेपछि बैठक १५ मिनेटसम्मका लागि स्थगित गरिएको थियो । त्यसपछि सुरु भएको बैठकमा पनि एमालेले अवरोध गरेपछि बैठक भदौ ३० गतेसम्म स्थगित गरिएको हो ।

प्रतिक्रिया