असोज ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण गरिने

admin

काठमाडौं, २८ भदौ : यस वर्ष दशैंका लागि असोज ४ गतेबाट राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । गत वर्ष नयाँ नोट वितरण नभए पनि यो वर्ष असोजको ४ गतेदेखि सबै बैंक तथा वित्तीय संस्थामा नयाँ नोट उपलब्ध हुनेछ । नेपाल राष्ट्र बैंकले यसपालिको दशैँमा नयाँ नोट लिन धेरै लाइन र झन्झट बेहोर्नु नपर्ने जनाएको छ ।

सर्वसाधारणले ५, १०, २०, ५० र १ सय अंकित दरका नयाँ नोट सटही गर्न पाउने छन् । ती नोटको १/१ बण्डलसम्म सर्वसाधारणले पाउने छन् । राष्ट्र बैंकले अहिले बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण भइरहेको र सर्वसाधारणले असोजको ४ गतेदेखि आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट नोट लिन सक्ने जनाएको छ ।

राष्ट्र बैंकको प्रधान कार्यालय बालुवाटार तथा क्षेत्रीय कार्यालयहरुबाट सर्वसाधारणले नयाँ नोट पाउने छन् । यसअघि व्यक्तिले लिने नयाँ नोटको सीमामा कडाइ गरे पनि यस पटक प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँसम्मका नोट वितरण गर्ने तयारी भइरहेको बैंकले जनाएको छ ।

साथै सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास र नेपाल बैंकका निश्चित शाखाबाट पनि नोट वितरण गर्ने तयारी गरिएको छ । सर्वसाधारणले आफूलाई पायक पर्ने बैंकको शाखाबाट पनि नयाँ नोट लिन पाउने छन् । गत वर्ष कोरोना महामारीका कारण राष्ट्र बैंकले नयाँ नोट सटही गरेको थिएन । यसपालि कोरोनाको संक्रमणमा कमी आएसँगै नयाँ नोट सटही गर्ने निर्णय भएको हो ।

प्रतिक्रिया