देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्न खोजे : नेता पौडेल

admin

काठमाडौं, २८ भदौ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाएका छन् । वरिष्ठ नेता पौडेलले सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर सम्पन्न गरिएका कतिपय वडा अधिवेशन आफूहरूलाई मान्य नहुने चेतावनीसमेत दिए ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफू पक्षका नेता, कार्यकर्तालाई पाखा लगाउने काम पार्टी नेतृत्वले गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे । नेता पौडेलले पार्टीको आउँदो महाधिवेशनमा नेतृत्व रूपान्तरण गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

त्यसो गरेर मात्रै कांग्रेसलाई लोकतान्त्रिक बाटोमा हिँडाउन सकिने उनको बुझाइ छ । वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानबिन गर्ने काममा समेत देशभर धाँधली गरेको आरोप लगाए । उनले पार्टीको आउँदो महाधिवेशनबाट सही नेतृत्व चयन गर्ने गरी अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

प्रतिक्रिया