बिनानिष्कर्ष सकियो एमालेले बहिस्कार गरेको सर्वदलीय बैठक

admin

काठमाडौं, २८ भदौ : संसद भवन बानेश्वरमा सोमबार झण्डै साढे २ घण्टा बसेको सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएको छ । सभामुख अग्नि सापकोटाले अवरुद्ध संसद बैठक खुलाउन बोलाएको उक्त बैठकमा प्रमुख प्रतिपक्ष एमाले नै सहभागी नभएपछि बैठकमा कुनै सहमति नजुटेको नेताहरुले बताएका छन् ।

बैठकमा नेताहरुले सभामुखलाई पुन प्रतिपक्षसँग वार्ता र संवाद गरेर निकास खोज्न सुझाव समेत दिएका छन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रतिपक्ष एमाले बैठकमा सहभागी नै नभएपछि कुनै निचोडमा पुग्न नसकेको बताए ।

यस्तै राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले संसद सहज रुपमा सुचारु गर्न बैठक आव्हान गरेपनि प्रतिपक्ष नआएकाले कुनै निष्कर्षमा पुग्न नसकिएको जानकारी दिइन् । उनले बैठकअघि सभामुख र कानुन मन्त्रीले प्रतिपक्ष दलका नेताहरुलाई हटलाइनमा फोन गर्दा सो पार्टीका अध्यक्षले नै आजको बैठकमा उपस्थित हुन सकिदैन भन्ने जवाफ दिएको सभामुखले ब्रिफिङ गरेको पनि जानकारी दिइन् ।

उनले बैठकमा सहभागी दलका नेताहरुले सदनलाई अनिर्णयको बन्दीबाट मुक्त गर्न प्रतिपक्ष सहभागी हुनैपर्ने भन्दै कानुन अनुसार नेकपा एकीकृत समाजवादी गठन भएकाले समाजवादी पार्टी सहभागी बैठकमा आउँदिन भन्नु हठ र इगोमात्रै भएको प्रतिक्रिया दिइन् ।

प्रतिक्रिया