काठमाडौं, २९ भदौ : (आज) मंगलबार पनि एमालेकै अवरोधकाबीच प्रतिनिधि सभा बैठकमा ुविनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारितु भएको छ । बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले नाराबाजी र विरोध गरेका थिए तर सभामुख अग्नि सापकोटाले विनियोजन विधेयकमाथि छलफलको प्रस्ताव निर्णयार्थ पेस गरेका थिए । ‘बहुमतको आधारमा विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पारित भएको हो ।
सभामुखले एमाले फुटाउन भूमिका खेलेको र पक्षपातपूर्ण व्यवहार गरेको भन्दै लगातार संसद् अवरोध गर्दै आएको छ । एमालेकै विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गरेर नयाँ बजेट प्रस्तुत गरिसकेका छन् । संसदको अवरोध हटाउन (हिजो) सोमबार सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा आफ्नो पार्टीले उठाएको माग सम्बोधन नहुँदासम्म सर्वदलीय बैठकमा सहभागी नहुने अडान राखेका छन् । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले असन्तुष्ट छ । मंगलबार प्रस्ताव पारित गरेपछि संसद् बैठक असोज ४ गतेसम्मको लागि स्थगित भएको छ ।