शंकर पोखरेलविरुद्ध शरीर बन्धकको जाहेरी बुटवलमा दर्ता नगरी दाङ पठाइने

admin

रुपन्देही, ३० भदौ : लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलका विरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी परेको छ । प्रदेश सभा सदस्य बिमला वली खत्रीले पोखरेल सहित एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध हदैसम्मको कारबाहीको माग गर्दै किटानी जाहेरी दिएका हुन् ।

बिमलाले गत साउन १५ गते देखि ५ दिन सम्म पोखरेल मुख्यमन्त्री हुँदा दाङबाट ल्याएर बन्धक बनाएकोले शरीर बन्धकसम्बन्धी कानुन अनुसार कारबाहीको माग गर्दै किटानी जाहेरी दिएकी हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले प्रदेश सभा सदस्य ओलीले किटानी जाहेरीका लागि पत्र बुझाएको पुष्टि गरेका छन् ।

तर, प्रहरीले भने घटना दाङबाट सुरु भएकाले दाङमै जाहेरी दर्ता गर्ने प्रतिबद्धता सहितको पत्र दिइएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मदन कुँवरले बताए । दाङ प्रहरीले भने उजुरी आइनसकेको बताएको छ । सांसद ओली र माओवादी केन्द्रका प्रमुख सचेतक बसन्त घर्तिमगर जाहेरी लिएर इलाका प्रहरी कार्यालय बुटवल पुगेका थिए । यस्तै उक्त जाहेरी दर्ता बुटवलमा नभइ दाङबाटै हुने कुँवरले बताएका छन् ।

रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले पनि पूर्वमुख्यमन्त्री पोखरेललगायत चार जनाविरूद्ध बुटवलमा किटानी जाहेरी प्राप्त भए पनि घटनाको सुरू दाङबाटै भएको हुँदा दाङमा जाहेरी पठाउने प्रक्रियामा आफूहरू रहेको बताए । उजुरी अनुसार कसुर ठहर भएमा पोखरेल सहित ४ जनालाई ७ देखि १० वर्ष कैद र ७० हजार देखि १ लाख रुपैयाँ सम्म जरिबाना हुने मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले सांसद बिमलामाथि अत्याचार भए पनि आफूहरूले राजनीतिक मानिस हुन् भनेर समयमै मुद्दा नहालेर उनीहरूलाई आत्मआलोचना गर्ने समय दिए पनि त्यसो नभएको बताए । बिमला गत उपनिर्वाचनका क्रममा तत्कालीन नेकपाको सूर्य चिन्हबाट दाङको निर्वाचन क्षेत्र नं. ३ (ख)बाट निर्वाचित भएकी थिइन् ।

राजनीतिक रूपमा बिमलाका स्वर्गीय पति उत्तरकुमार वली र विमलालाई समेत उपनिर्वाचनमा टिकट दिने दाङबाटै प्रतिनिधित्व गर्ने पूर्वमुख्यमन्त्रीविरूद्ध वलीले गम्भीर प्रकृतिको मानिने अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दिएको घटना सर्वजनिक भएपछि एमाले दाङका एक नेताले आश्चर्य व्यक्त गरे ।

माओवादी केन्द्र दाङकै एक नेताले भने गम्भीर अपराध गर्न खोजे आफ्नै बुवाविरूद्ध समेत चेलीबेटी उत्रिएका थुप्रै घटना रहेको भन्दै बिमलाको सहासलाई सबैले सम्मान गर्नु पर्ने तर्क गरे । साउन १५ गते मुख्यमन्त्रीको निर्देशनमा बिमलालाई दाङकै एमाले नेता मानबहादुरको सहयोगमा घरमै पुगेर ललाइफकाइ गाडीमा चढाएर बाँके जाउँ भनी जबरजस्ती बुटवल पुर्‍याएर बन्धक बनाएको आरोप खेपेका एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले आफूविरूद्ध बिमलाले दिएको जाहेरीको कुनै तुक नभएको बताए ।

उनले बिमलाकै इच्छाअनुसार मुख्यमन्त्री निवासमा ल्याइएको भन्दै अपरहण गरेको भन्नु राजनीतिक रिसइबी मात्रै भएको बताए । बिमलाले यसअघि बुटवलमा पत्रकार सम्मेलन गरेर पाँच दिन आफूलाई मुख्यमन्त्रीको कार्यालयमा बन्धक बनाएर राखेको तथा आफू शौचालयको चप्पल लगाएर भागेको बताएकी थिइन् । पछिल्लो समय वली माओवादीको तर्फबाट लुम्बिनीमा राज्यमन्त्री बन्ने चर्चा चलिरहेको छ । तत्कालीन नेकपाबाट निर्वाचित वलीले पछिल्लो समय माओवादी पार्टी रोजेकी छिन् ।

प्रतिक्रिया