प्रतिपक्षीमाथि दोष थोपर्न बन्द गर, माग सम्बोधन गरेर प्रतिनिधि सभा चलाऊ : एमाले

admin

काठमाडौं, ३० भदौ : नेकपा एमालेले प्रतिपक्षीका जायज मागलाई सम्बोधन गरी प्रतिनिधि सभालाई सुरु गर्न सरकार र प्रतिनिधि सभाका सभामुखको ध्यानाकर्षण गराएको छ । बुधबार पार्टीका महासचिव ईश्वर पोखरेलले निकालेको विज्ञप्तिमा प्रतिनिधि सभा सुरु गर्न सरकार र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराइएको छ ।

प्रतिपक्षको अवरोधका कारण बजेट समयमा पारित नभएको जस्तो गरी सरकारले भ्रम सिर्जना गरेको पनि विज्ञप्तिमा बताएको छ । आफूलाई इच्छा लागेको बिजनेस स्वेच्छाचारी ढङ्गले अघि बढाउने सरकारले भदौ ३० भित्र बजेट पारित गरिसक्नुपर्ने विषय बिर्से झैँ हाउस असोज ४ गते किन सारियो भनेर महासचिव पोखरेलले प्रश्न सोधेका छन् ।

‘यति बेला सरकार प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिरहेको छ । जबकि प्रतिनिधि सभाको बैठक सुरु भएको लामो समयसम्म सरकारका लागि बजेट प्राथमिकताको विषय नै बनेन । बरु यस बीचमा प्रतिपक्षी दललाई षड्यन्त्रपूर्ण ढङ्गले विभाजन गर्नका लागि अध्यादेश ल्याउने प्रयोजनका लागि संसद् अधिवेशन स्थगित गरियो,’ विज्ञप्तिमा भनिएको छ ।

आर्थिक वर्ष सुरु भएको लामो समय गुज्रिसकेको समयमा प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय गुजारेका कारणले नै आजको वित्तीय सङ्कटको परिस्थिति सिर्जना हुन पुगेको एमालेले बताएको छ । ‘नेकपा एमाले बजेटजस्तो संवेदनशील विषयमा सरकारको उदासिनता र गैरजिम्मेवार रवैयाप्रति खेद व्यक्त गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया