मेलम्चीझैँ बगिरहेछ ङाजुको आँसु…

admin

काठमाडौं, ३० भदाै : सिन्धुपाल्चाेक हेलम्बु डाँडाको फेदमा कच्ची सडक छेउ बस्ने ५२ वर्षीया ङाजु तामाङका आँखा हेलम्बु पहाडझैँ रसाइरहन्छन् ।

मेलम्ची पहाड यो बर्खा निकै रसायो । थान्किएजस्तो अझै देखिँदैन, चिस्यान बगिरहेकै छ । त्यही पहाडको रसायनले कमेरे माटोको लेदोे बोकेर बगेजस्तै ङाजुका आँखा रसाइरहन्छन् । हेलम्बु पहाडले जस्तो ङाजुका आँसुले कसैको बित्यास पारेको भने छैन । बरु दिनदिनै आफ्नै आँत भने सुकाएको छ ।

झन्डै सय मिटर तल मेलम्ची बगिरहेको छ । यसो हेर्दा लाग्छ मेलम्ची रिसाएको छ । पहिलेभन्दा फरक रङ तर तेजमा बग्दै छ मेलम्ची । छेउछाउका पहरा, लहरा, झार, बुट्यान अनि गेग्रानको लेदोमात्र होइन मेलम्चीले वरपरका घरबस्ती र मानिसलाई नै आफैसँग लगेर गयो ।

हेलम्बु पहाड फेदमा रहेको गणेशबगरको सिङ्गो बस्ती मेलम्चीले आफूसँगै कहाँ पुर्‍यायाे कुनै अत्तोपत्तो छैन । झन्डै ४३ घरको त्यो बस्ती एकै मेसोमा बगर बने । अहिले त्यहाँ एकाध घरका अवशेष देखिन्छन्, तर बस्ती बगरमा परिणत भएको छ ।

बगरकाे बीचमा ढलेर आधा पुरिएको पहेँलो रङको घर ङाजुको थियो । घर पुरेको महिना दिन बढी बितिसकेको छ तर उहाँ त्यो घर ठाडिइहाल्छ कि भन्ने आशले हरेक दिन त्यही ढिस्कोमा हेर्न पुग्नुहुन्छ । ढलेको घर के उठ्थ्यो ? उठ्दैन । उहाँको मनले पत्याउन भने मानेको छैन ।

ङाजुजस्तै आफ्नो घर पहिलेजस्तै उठिदिएहुन्थ्यो भन्ने सपना सबै स्थानीयवासी देख्छन् र बिहान–बेलुकै घरको निसाना रहेको बगरको परिक्रमा गर्ने गर्छन् । वरपरको वातावरण उस्तै उराठ र सुनसान छ । आवाज छ त त्यही मेलम्चीको एकोहोरो सुस्साहटको ।

कति मेहनतले सिङारेको घर भक्लक्क ढालेर बगरले पुर्दा उहाँको अझै आँसु थामिएको छैन । ‘सर्वस्व गयो मेरो, जे थियो त्यही घर थियो, अब त यही आँसुमात्र बाँकी छ’, आँसुका धारसँगै बग्छन् उहाँका शब्द पनि ।

कोही नयाँ व्यक्ति पुगेर केही सोध्यो कि मनको घाउ बल्झाउन आएजस्तो लाग्छ ङाजुलाई । मन नलागे पनि यसरी आफ्ना व्यथा पोखेको दुई महिनाभन्दा बढी भयो ।

सात जनाको परिवार उहाँका श्रीमान् कामी तामाङको दाजुभाइको गरेर ६० मुरी धान फल्ने खेत पनि सँगै थियो । घर छेउमै धान कुट्ने मिल थियो । आर्थिक रूपले सम्पन्न र सुखी थियो ङाजुको परिवार । असार १ को बाढी घरमा पस्यो, छिमेकका केही घर बगेका थिए ।

अविरल वर्षा निरन्तर रहँदा असार १७ मा उर्लिएको मेलम्चीले मिलसमेत बगाएपछि ङाजु परिवारको बासै उठ्यो ।

‘’एउटा घर बगाएर कहाँ लग्यो थाहा छैन, अर्को एउटा बगरमा पल्टिएर बसेको छ । मिलबाट निकालेको थोरै चामलले केही दिन जीवन धानियो, अहिले दाताको भरमा चुलो बन्दै छ, आँसु पुछ्दै उहाँले दुःख सुनाउनुभयो । मुरीकामुरी धान, मकै र चामलका बोरा सबै मेलम्चीले निल्यो । अहिले त अन्नको सग्लो दाना देख्दा पनि उहाँको आँखा थप रसाउँछन् ।

परेको बेला अरूलाई सहयोग गर्ने ङाजु अचेल कसले दुई छाक टारिदेला भन्ने आशमा हुनुहुन्छ । कोही नयाँ मान्छे गाउँमा देखियो भने केही ल्याइदिए कि भन्ने आशले अगाडि पुग्नुहुन्छ । घरखेतै लगेका यहाँका धेरै सम्पन्न भनिएका मानिस पनि सुकुम्वासी बनेका छन् । विपद्ले धनी–गरिब नभन्ने रहेछ । जसको घर ठिक छ पूरै पनि खोतलेर बस्न लायक बनाउन सकिन्छ । बनाउन थालेका पनि छन् । जसको घर नै बगाएर बगर बनेको छ उसलाई ठूलो चोट छ ।

उहाँको घर खोलाको छेउमा भएर बगेको पनि थिएन । खोला अतिक्रमण गरेर बनाइएको पनि होइन । खोला निकै तल घरबाट देखिँदैन थियो । एक्कासी मेलम्ची उर्लेर यसरी माथि आयो कि झोलङ्गे पुलको समेत नाम निसान नै मेटेर लग्यो । अघिल्लो दिन चामल अलिकति निकालेका थिए । मिल र घट्ट उप्काएर राखे, त्यही चामलले सुरुको समयमा छाक टार्‍याे ।

केही माथि संस्थाले बनाइदिएको अस्थायी टहरामा बसेर उहाँको परिवार अहिले गुजारा गर्दैछन् । उहाँले थप्नुभयो, ‘सङ्घ–संस्थाले खाना दिएको छ, त्यही खाएर बसिराछौँ, दाताको सहयोग आएन भने भोकै बस्नुपर्छ ।’ बाँकी भएको बाँदर खेल्ने पखेरोमा अन्न फल्दैन । अब कसरी जीवन गुजारा गर्ने भन्ने चिन्ताले उहाँलाई सताएको छ ।

घर बगाएको ठाउँबाट तल गहिरोमा थियो खोला । घरबाट खोला हेर्न सकिँदैन थियो । त्यहाँ ठूलो फाँट पनि थियो । सबै बगर बनेको छ । अस्तिसम्मको घरबस्तीबाटै मेलम्ची आफ्नै तालमा मस्त कुदिरहेको छ । बाढी आएको दिन गाउँमा रोपाइँ थियो ।

ङाजु रोपाइँ सकेर घर फर्कँदै हुनुहुन्थ्यो । उहाँका अनुसार आउँदा–आउँदै उतिसलगायतका रुख निकै ठूलो आवाजका साथ गर्लम्मै ढले । कहाँ के भयो ? केही पत्तो भएन । तर एकैछिनमा हेर्दा त माथिको माछा फार्म बगाइसकेको रहेछ । अनि मान्छेको भागभाग भयो । बल्लतल्ल ज्यान जोगियो उहाँले सम्झिनुभयो ।

गणेश बगरका स्थानीयवासी राम तामाङका अनुसार असार १ गते बेलुका ७ बजे बाढी आएको थियो, त्यस दिन खोला छेउका केही घर लग्यो । पछि १६ गतेदेखि परेको ठूलाे पानीले १७ गते बेलुका एक/दुई घर मात्रै बाँकी राखेर अन्य ४३ घर लग्यो । त्यसपछि बनेको यहाँको अस्थायी टहरामा तीन समूहमा बाढीपीडित बस्दै आएका छन् । सबै मेसमा खाना खान्छन् ।

उनीहरूले सरकारसँग सबै स्थायी बासको माग गरिरहेका छन् । ‘बरु एकीकृत बस्ती बनाइदिए हुन्थ्यो, भाडाको जग्गामा यसरी कति दिन बस्ने ?’, राम तामाङले भन्नुभयो । दिनमा बाढी आएकाले मात्रै त्यहाँ मान्छे जोगिएको उनीहरू सुनाउँछन् ।

केही अघि त्यस बस्तीको स्थलगत निरीक्षण गरेर फर्कनुभएका गृह मन्त्री बालकृष्ण खाणले उहाँहरूको पुनर्वासका लागि तत्काल व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन पनि दिनुभएको छ ।

यसपालि औसतभन्दा बढी नै वर्षा हुँदा सिन्धुपाल्चोकसहित देशका ७१ जिल्ला प्रभावित भएको छ । जेठ २८ मा भिभिएर ३० गतेदेखि देशैभरि मनसुन सक्रिय भएको थियो । त्यसको अर्को दिनदेखि नै ठूलाे पानी पर्न सुरु भइ जनजीवन प्रभावित बनायो । सुरुवाती वर्षाले मनाङ र सिन्धुपाल्चोकलगायत जिल्लामा ठूलो जनधनको क्षति गरायो । असार १ र असार १६ गते फेरि ठूलाे पानी पर्दा सिन्धुपाल्चोकमा दोहोरिएर क्षति भएको हो ।

गृह मन्त्रालयबाट प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा अहिलेसम्म ६ जनाको ज्यान गएको छ भने २० जना बेपत्ता छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालका अनुसार नगर क्षेत्रका दुई सय ४७ घर बाढीले बगाएको छ ।

एक हजार सात सय रोपनीभन्दा बढी जमिन लगेको छ । उहाँले जग्गामा मात्रै तीन अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको सुनाउनुभयो ।

यसपालि मेलम्चीको माथिल्लो हेलम्बु क्षेत्रमा खोला किनार कटान गर्दै र पहिरो खस्दै गेगरसहितको अकल्पनीय बाढीले तल्लो तटीय क्षेत्रलाई नराम्ररी प्रभावित बनाएको हो । अझै लाखौँ टन गेगर अड्किएर बसेकाले तल्लो क्षेत्रमा जोखिम कायमै छ ।

उता हेलम्बु गाउँपालिकाको प्रारम्भिक विवरणमा दुई सय २७ घर बगेको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । दुई हजार एक सय रोपनी बढी जग्गा लगेको छ । बाढी, पहिरो र डुबानबाट यो वर्ष एक सय ३१ जनाको ज्यान गएकाे छ भने ४२ जना हराइरहेका छन् । रासस

प्रतिक्रिया