माधव नेपाल एमालेमै फर्केर आउनुस्, त्यो बेला म रातभरि सुत्न सकिन : अष्टलक्ष्मी शाक्य

admin

काठमाडौं, ३१ भदौ : नेकपा एमाले नेतृ तथा वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो ठिक नभएको बताएसँगै नेता नेपाललाई एमालेमै फर्कन आग्रह गरेकी छिन् ।

‘मेरो प्रस्ट धारणा छ । माधव नेपालले लिएको बाटो ठिक होइन, अहिले फुटको होइन, जुटको राजनीति र सुदृढ एमालेको आवश्यक्ता छ’, शाक्यले भनिन्, ‘माधव नेपाल हाम्रो नेता हो, तर आज जीवन त्याग गरेको पार्टी छोडेर आन्दोलन अघि बढाउँछु भन्नुभएको छ यो ठिक होइन, फेरि समिक्षा गर्नुस्, फर्केर आउनुस्, तपाईको भुमिका एमालेमा अझै आवश्यक छ ।’ बिहीबार काठमाडौं जिल्लाका एमाले कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै शाक्यले सो बताएकी हुन् ।

सोही क्रममा उनले नेकपा विभाजनपछि आफु लामो समय बाहिर बस्नुपर्दा धेरै पीडाबोध भएको गुनासो पनि गरिन् । मुख्यमन्त्री शाक्यले नेकपा विभाजनपछि लामो समय एमाले हुन नसके भन्दै एमालेभन्दा बाहिरै बस्नुपरेको गुनासो सुनाइन् । ‘मेरो जिन्दगीमा त्यो बेला सबभन्दा पीडाको समय भयो । म रातभरि सुत्न सकिँन । किन हामी मिल्न सकेनौ ? भन्ने कुरा मनमा खेल्यो । तर ०७८ जेठ १ मा खुसी भएँ । एमाले विवाद मिलाउन कार्यदल बन्यो र त्यसले प्रस्ताव अघि ल्यायो अनि बल्ल आफ्नै घरभित्र पस्न पाउने भयौ भनेर खुसी भएँ’, शाक्यले पीडा पोखिन् ।

उनले एमाले पार्टी बनाउन आफु र आफुजस्तै हजारौंको त्याग र समर्पण रहेकाले पछिल्लो पटक एमाले हुन पाउँदा आफूलाईजस्तै अरुलाई पनि खुसी लागेको महशुस भएको बताइन् । उनले टुटफुट र जुटबाट गुज्रँदै यहाँ आएको एमालेको आजको आवश्यक्ता भनेको ‘सुदृढ नेकपा एमाले’ भन्दै यसलाई बलियो र विचार युक्त बनाउन विचारबाट विचलित हुन नहुने बताइन् ।

उनले पार्टीमा विगतमा विचार शुन्य भएकाले गुटबन्दी मौलाएको भन्दै विचारको छलफल र प्रशिक्षण आवश्यक्ता रहेकाले विगतका गल्तीको निर्मम समिक्षा गर्न जरुरी रहेको बताइन् । ‘किन यस्तो भयो भनेर हामीले अत्यन्तै निर्मम समिक्षा गर्नैपर्छ, जनमतलाई कदर गर्नैपर्छ’, शाक्यले भनिन् । उनले अबदेखि प्यानलगत चुनाव गर्न सके सुदृढ एमाले बनाउन सकिने दावी समेत गरिन् ।

प्रतिक्रिया