नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारलाई पत्र

admin

काठमाडौं, १ असोज : कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ यूकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ । अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका अव्यावहारिक मापदण्ड हटाउन अनुरोध गरिएको छ ।

बेलायती यातायातमन्त्री ग्रान्स साप्सलाई सम्बोधन गरी लेखिएको त्यस पत्रमा भारतलाई रातो सूचीबाट हटाइएको तर कोरोनाको दर क्रमशः घटेको नेपाललाई अझै पनि राखिएकाले यो अव्यावहारिक रहेको उल्लेख गरिएको छ । बेलायतमा करिब डेढ लाख नेपाली रहेका र गोर्खाका परिवार तथा अन्य यात्रा गरिरहनेहरूका लागि मापदण्डले झमेला भएको र नेपालबाट बेलायत आउनेले महँगो खर्चमा होटलमा क्वरेण्टीन बस्नु पर्ने व्यवस्थाले थप असहज भएको भनिएको छ ।

अधिकांशले कोभिडविरूद्धको खोप लगाइसकेका र त्यस आधारमा पनि नेपालीलाई यातायातमा सहज गराउन अनुरोध गरिएको छ । अन्य युरोपेली देशले नेपाललाई रातो सूचीबाट हटाइसकेको र अब केवल बेलायतमात्र रहेको हुँदा आफ्नो मागलाई यथोचितरूपमा बुझेर कदम चाल्न बेलायत सरकारलाई भनिएको छ । बिहीबार नै सङ्घले लण्डनमा रहेको नेपाली दूतावासमार्फत नेपाल सरकारलाई पनि पत्र पठाएर दुई देशबीचको यात्रा सहज गर्न पहलकदमी थाल्न अनुरोध गरेको छ ।

प्रतिक्रिया