सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

admin

काठमाडौं, १ असोज : शुक्रबार सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । हरेक वर्षको असोज १ गते सुदूरपश्चिमका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा ‘बुढी पोल्ने’ पर्व मनाइने चलन छ ।  राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रूपमा यो पर्व धुमधामका साथ मनाइने गरिएको दिपायल सिलगढी नगरपालिका-४ राजपुरका कमलसिंह विकले बताए ।

सुदूरपश्चिममा भदौ १ गतेका दिन बीच बाटामा गाडिएको सल्ला, बाँझ, निगालो आदिका हाँगाबिँगा काटेर पुतना बुढी अर्थात् राक्षस पुतनाको प्रतिक बनाइएको हुन्छ । त्यो प्रतिकलाई शुक्रबार गाउँका सबै मिलेर जलाउने अर्थात् बन्दुनी जलाउने भनिने गरेको अर्का स्थानीयवासी दलबहादुर साउदले जानकारी दिए ।

उनका अनुसार बन्दुनी जलाउने ठाउँमा आ-आफ्नो बारीमा फलेका काँक्रा लगेर खुशीयालीका रूपमा खाने, लुतो फाल्ने प्रचलन रहेको छ । यसैगरी बुढी पोलेर घर फर्किने क्रममा बाटो-बाटोमा बलेको दियालो पनि गाड्दै जाने प्रचलन छ । (आज) शुक्रबारको दिनलाई सुदूरपश्चिममा बन्दुनी संक्रान्ति पनि भन्ने चलन रहेको बुढापाका बताउँछन् ।

प्रतिक्रिया