सङ्खुवासभा, ४ असोज : सङ्खुवासभाको मादी नगरपालिका-१ को खोलागाउँमा भएको सामूहिक ह’त्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले थप पाँच जनामाथि अनुसन्धान बढाएको छ । गएको भदौ २८ गते मादी-१ का तेजबहादुर कार्कीसहित उनकी आमा पार्वता, श्रीमती मनमाया, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमा कार्कीको सामूहिक ह’त्या भएको थियो ।
ह’त्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेश कार्की र उनका बुबा, काका, काकी तथा दुई छोरामाथि प्रहरीले अनुसन्धान अघि बढाएको हो । ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
लोकबहादुरका भाइ नरेशको साथबाट ज्यान गुमाएकी रञ्जना कार्कीको मोबाइल भेटिए पछि अनुसन्धान लम्बिएको छ । घटनाको सातौँ दिन लोकबहादुरलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । रञ्जनाको हराएको मोबाइल प्रहरीले फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थलमा केन्द्रित बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए । ह’त्या आरोपमा पक्राउ परेका लोकबहादुरको घरबाट गएको बिहीबार मोबाइल भेटिएको थियो ।