पहिरो अवलोकन गर्न पुगेका बुटवलका मेयरमाथि स्थानीयद्वारा आक्रमण

admin

काठमाडौं, ४ असोज : बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात भएको छ । बुटवल ३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदी माथि स्थानीय एक युवाले मुक्का प्रहार गरेका हुन् ।

पहिरो गएको लामो समयसम्म पनि सरकारले विस्थापितलाई बेवास्ता गरेको भन्दै आक्रोशित बनेका स्थानीय युवाले सोमबार बिहान पहिरो अवलोकनको लागि पुगेका सुवेदी माथि एक्कासी आक्रमण गरेका थिए । मुक्का उज्याउँदै मेयर सुवेदीमाथि जाई लागेका युवालाई सुवेदीसँगै रहेका नगर प्रहरीले रोकेका थिए । मुक्का उज्याउँदै गएका युवा नगर प्रहरीले रोकेपछि भुइँमा लडेका थिए ।

अवलोकनका लागि पुगेका मेयर सुवेदी स्थानीय आक्रोशित बनेपछि फर्किएका छन् । स्थानीयले एक महिनासम्म पनि स्थानीय सरकारले नहेरेको भन्दै आक्रोश पोखेका थिए । सोमबार बिहानैदेखि बुटवल तथा आसपासको क्षेत्रमा पानी परिरहेकोले पहिरोले थप क्षति पुर्‍याउन सक्ने भन्दै मेयर सुवेदी सहितको टोली पहिरोग्रस्त क्षेत्रमा पुगेको थियो ।

गत भदौ १३ गते बिहान उक्त स्थानमा पहिरो जाँदा झण्डै एक दर्जन घर पहिरोले पुरिएका थिए भने ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । यस्तै २०५५ सालमा पहिरो गएको स्थानमा अहिले पुनः पहिरो खसेको हो। उक्त ठाउँमा २०५५ साल भदौ २० गते पनि पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो । पहिरोमा परेका ५७ घर परिवारलाई सरकारले क्षतिपूर्ति दिएको थियो ।

प्रतिक्रिया