काठमाडौं, ४ असोज : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाग्मती र प्रदेश नं. १ प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन् । सोमबार पेसागत महासङ्घ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रदेश नं. १ र वाग्मती प्रदेशमा छिट्टै समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्न लागेको बताएका हुन् ।
उनले प्रदेश नम्बर २, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको भन्दै नेताहरूलाई धन्यवादसमेत व्यक्त गरे । आफ्नो पार्टी कसैको पार्टी भन्दा कम नभएकाले नेता, कार्यकर्तालाई नआत्तिन नेता नेपालले आग्रह गरे । अध्यक्ष नेपालले एमालेबाट आफूहरू चोइटिएर हाइसन्चो भएको भन्ने केपी ओलीको भनाइप्रति लक्षित गर्दै हाइसन्चो भएको मान्छेले किन संसदमा नारा लगाउनुपर्यो भन्ने प्रश्नसमेत गरे ।
पिलो निचोरिएर आनन्द भयो भन्ने मान्छेले किन दिनदिनै संसदमा कराउनुपरेको भन्ने पनि उनले प्रश्न गरे । उनले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भएप नि एमाले सांसदहरू अरुको काँधमा चढेर, माइक खोस्दै नाँक भाचिदिन्छु भन्दै संसदमा उफ्रिएको टिप्पणी समेत गरे ।