राष्ट्रिय सभामा पेस भएको विनियोजन विधेयकमाथि ७ गतेदेखि छलफल सुरु

admin

काठमाडौं, ५ असोज : नेकपा एमालेका सदस्यको विरोधकै बीच विनियोजन विधेयक अर्थात् आर्थिक वर्ष २०७८/०७९ को बजेट राष्ट्रिय सभामा पेस भएको छ ।

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले पक्षपातपूर्ण व्यवहार गरेर पार्टी फुटाउने षड्यन्त्र गरेको र एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेका राष्ट्रिय सभा सदस्यहरू आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए ।

तर, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थ मन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिएका हुन् । त्यसपछि सभामा निर्णयार्थ पेस गरिएको प्रस्ताव बहुमतले पारित भएको हो ।

अब विधेयकमाथि पर्सि बिहीबार ७ गतेदेखि छलफल हुनेछ । विनियोजन विधेयक (हिजो) सोमबार प्रतिनिधि सभाबाट पारित भएको थियो । प्रतिनिधि सभाबाट पनि एमालेको नाराबाजी र होहल्लाकै बीचमा विनियोजन विधेयक पारित भएको थियो ।

राष्ट्रपतिले प्रमाणित गरेपछि बल्ल सरकारले खर्च गर्न पाउनेछ । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट अस्वीकार गर्दै अर्थ मन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए ।

प्रतिक्रिया