काठमाडौं, ६ असोज : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त भएका छन् । खड्काको बुधबार नै शपथग्रहण गर्ने तयारी भइरहेको छ । दिउँसो २ बजे भित्र उनलाई शपथ ग्रहण गराउने तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।
खड्काले कांग्रेसमा परराष्ट्र विभाग हेर्दै आएका थिए । खड्काले अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनी सकभर बुधबार बेलुका संयुक्त राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गर्दै अमेरिका जाने तयारी छ । बुधबार नभ्याए (भोलि) बिहीबार बिहान खड्कासहितको टोली अमेरिका जाने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सत्ता गठबन्धनका नेताहरुको मंगलबारको बैठकमा खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो । तर, पार्टी भित्र छलफल नगरेको भन्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ । यस विषयमा बुधबार कांग्रेसको पदाधिकारी बैठकमा छलफल हुनेछ । बैठक बुढानिलकण्ठमा दिउँसो ३ बजे बस्ने छ । बैठकमा पार्टीको १४ औँ महाधिवेशनका विषयमा पनि छलफल हुनेछ ।